सप्तरीको तिरहुत गाउँपालिका स्थित लोहजारामा अर्ग्यानिक आँपखेती सुरु गरिएको छ । बाबा बनसखण्डीको वनमा यो अभियानको शुक्रबार सुरुवात गरिएको हो । आँपको उत्पादनमा सप्तरी अग्रणी मानिदै आएको छ ।
अर्ग्यानिक आँपखेती सुरु गरेपछि यसले अझै उत्पादन बृद्धि सघाउ पुर्याउने अपेक्षा लिन सकिन्छ । अर्ग्यानिक आँपको उत्पादनका अलाबा यो अभियानले दिने अर्को लाभ भनेको पर्याबरणको संरक्षण नै हो । कुनै समय हराभरा रहने गरेको चुरे क्षेत्रमाथि पछि बढेको दोहनका कारणले त्यो हरियाली क्रमशः लोप हुने क्रममा छ । बन क्षेत्रमा हुने गरेको अत्यधिक दोहनले पर्याबरण बिग्रने र त्यसको दुष्परिणाम अहिले देखा पर्न थालिसकेको छ । पर्याबरण जोगाउन आवश्यक रहेको कुरा अहिलेदेखि उठेको विषय चाहिँ होईन । तर त्यसमा ध्यान नदिएका कारणले नै अहिले अनेक प्रकारका संकट देखा पर्न थालिसकेका छन् । यस्तो प्रतिकूलताको अवस्थामा ढिलै भए पनि लोहजरामा अग्र्यानिक आँप उत्पादनको पहल थालिएको छ । यसले त्यस क्षेत्रको हरियाली बढाउनमा केही न केही मद्दत मिल्ने नै छ ।
लोहजरामा थालनी भएको यो कार्य अन्यत्र पनि गर्न सकियो भने सप्तरीको हरियालीमा बढोत्तरी ल्याउन पक्कै पनि टेवा पुग्ने छ । अन्यकालागि पनि अनुकरणीय रहेको यो कार्यलाई विस्तार गर्दै लैजाने तथा भएको हरियालीको संरक्षण तर्फ ध्यान दिने हो भने बिग्रँदै गएको पर्याबरणमा सुधार आउनेमा आशंका रहने छैन । यस कार्यमा सरोकारवाला सबैले पहलकदमी लिन आवश्यक छ ।