• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लोहजरामा अर्गानिक आँप खेती
न्यूज टुडे
राजविराज,१६ असोज । 
सप्तरीको  तिरहुत गाउँपालिका ५ लोहजरा स्थित बाबा बनसखण्डी सामुदायिक वन क्षेत्रमा अर्गानिक आँप खेती संचालन गरिएको छ । नेपाल ग्रामीण पुर्ननिर्माण संस्था ( आरआरएन) आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र ( डिजीएम परियोजना) अन्तर्गत अर्गानिक आँप उत्पादन तथा उधम  संचालन गरिएको हो । 
क्लामेट इन्भेस्टमेन्ट फण्ड अन्तर्गत वल्ड बैक तथा आरआरएन र डिजीएम नेपालको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीद्वारा अर्गानिक आँप खेती सुरु गरेको आयोजकले जनाएको छ ।
आँप खेतीको शुक्रबार आयोजित एक कार्यक्रमका वीच सहयोगी संस्थाका प्रतिनिधिहरुले आँपको विरुवा रोपेर उद्घाटन गरे ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष श्यामसुन्दर सिंह दनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा डिजीएम नेपाल केन्द्रीय कार्यालयका निकी श्री श्रेष्ठ, इन्जिनियर निशा सापकोटा, राजेन्द्र याख्खा राई मधेस प्रदेश संयोजक मनोज सिंह तथा आदिवासी जनजाति महासंघ सप्तरीका पदाधिकारीहरुले संयुक्त रुपमा आँपको बिरुवा रोपेर आँप खेती प्रारम्भ गरे ।
वृक्षरोपण उद्घाटन गर्दै सहयोगी संस्थाका प्रतिनिधिहरुले समयमै परियोजना संचालन गरेको भन्दै आयोजकको प्रशंसा गरे । परियोजनाले वन संरक्षण, पर्यावरणको सुरक्षा तथा आम्दानीको श्रोत राम्रो हुने उल्लेख गर्दै उनीहरुले यसबाट जलवायु परिबर्तनको असर न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 
उक्त अवसरमा आदिवासी  जनजाति महासंघ सप्तरीका उपाध्यक्ष मिलन कुमार चौधरी,भद्रा कुमारी लामा सिंदन, सचिव पूर्ण मगर, सह- सचिब रविना स्याङ्दन  तामाङलगायतका जिल्ला पदाधिकारी, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति थियो । 
विश्व बैंक अन्तर्गत जलबायू परियोजनाको २५ लाख, आदिवासी जनजाति महासंघ सप्तरीको३ लाख गरि कुल २८ लाखको लगानीमा अर्गानिक आँप खेती सुरु गरिएको परियोजना प्रमुख समेत रहेका आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष दनुवारले जानकारी दिए । 
सामुदायिक वनसंग १० बर्षका लागि जग्गा लिजमा लिएर संचालित परियोजना स्थलमा घेरबेर लगायतको सम्पुर्ण तयारी पछि आँपको विरुवा रोपिएको अध्यक्ष दनुवारले बताए ।  तत्काल ५० कट्ठा जग्गामा बृक्षरोपण थालिएको बताउँदै उनले यसलाई विस्तार गर्दै लाने जानकारी दिए ।
उक्त आँप खेतीबाट जलबायू परिबर्तनको प्रभाव न्यूनीकरण गर्दै संस्थागत विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष दनुवारले बताए । 
आदिवासी जनजाति महासंघ सप्तरीको नेतृत्व अध्यक्ष दनुवारले लिएपछि संस्थागत विकास तथा नियमित प्रशासनिक सुधारका कार्यले गति लिएको  महासंघले जनाएको छ ।