बाढीले ठाउँठाउँका सडक अबरुध्द भएका कारण अत्यावश्यक काम परेकाहरुकालागि हवाई यात्रा नै बाध्यता बनेको अवस्था छ । तर यही मौकामा हवाई भाडा अत्यधिक बढेका कारण त्यो सामान्य आय भएकाहरुको पहुँच बाहिरको विषय बनेको छ ।
प्राकृतिक विपत्तिका कारण सिंगो मुलुक नै शोकमा रहेको अवस्थामा सबै क्षेत्रले सहयोगको भावना दर्शाउनु पर्नेमा यात्रुमाथि थप भार पर्ने गरी भाडा लिईनु कहाँसम्म उचित होला ? विपत्तिको समयमा त मानवीय भावना देखाउनु पर्नेमा उल्टै यस्तो प्रतिकूल अवस्थालाई कमाउने मौकाका रुपमा लिन थालिन्छ भने त्यो कसरी उचित मानिएला ? वर्षाको समय अझै पनि हटिसकेको छैन । यही समयमा ठूला चाडपर्व आउने क्रममा छन् । चाड मनाउन आउजाउ गर्नेहरुको सार्वजनिक यातायातमा बढी भिडभाड रहनु स्वाभाबिकै हो । यो समयमा पनि अरु बेला भन्दा बढाएर भाडा असुल्ने गरिन्छ । हरेक वर्ष जसो यात्रुले चाडबाडका समयमा चर्को भाडा तिर्नै पर्ने भएको छ । मुलुकको सबै ठाउँकालागि अहिले पनि हवाई यातायातको सुबिधा उपलब्ध छैन । तर नजिक पर्ने एयरपोर्टसम्मको यात्रा गरेर पनि जसोतसो गन्तव्यमा पुग्नु पर्ने जरुरी काम भएकाहरुको बाध्यता हुन सक्छ । भाडा अत्यधिक बढ्यो भनेर अहिलेदेखि नै हवाई यात्रुहरुले गुनासो गर्न थालेका छन् ।
सरकारले जनतालाई राहत पुर्याउने गरी काम गर्नु पर्ने हुन्छ । हवाई भाडा बढी लिएको विषयले संसदमा समेत प्रबेश पाईसकेको छ । जनतामाथि परेको समस्याका बारेमा सरकारको तत्कालै ध्यानाकर्षणको आवश्यकता छ ।