न्यूज टुडे
राजविराज,१५ असोज ।
चाडपर्वकै मुखमा दैनिक उपभोग्य बस्तुको अत्याधिक मूल्य वृद्धिले सर्वसाधारणहरु महंगीको मारमा परेका छन् । नेपाली बजारमा दैनिक उपभोग्य बस्तुको मुल्य चरम उत्कर्ष्मा पुगेपछि सर्वसाधारण महंगीको ठूलो मारमा परेका हुन् ।
नेपाली बजारको तुलनामा दोब्बर फरक पाएपछि उपभोक्ताहरु सीमा पारीको बजार धाउन थालेका छन् । दाल,चामल, चिनी, तेल, मसला, साबुन, सरप लगायत अत्यावश्यक बस्तुमा नेपाली बजारमा भन्दा दुई गुन्ना सस्तो पाईने भएकोले कुनौली बजारबाट ल्याउन बाध्य भएको उपभोक्ताहरु बताउँछन् ।
महंगीले किसान, मजदुर गरिव विपन्न बढी प्रभावित भएका छन् भने यसले सर्वसाधारणहरुमा बढी असर परेको सप्तरीका सक्रिय संचारकर्मी रामनाथ यादवले बताए । किसानलाई चाहिने मल, इन्धन, विधुत महसुल समेतमा भएको चर्को मूल्य वृद्धिले समग्र नेपालीले महंगी सामाना गर्नु परेको उनको भनाइ छ ।
नेपली बजारमा भन्दा सस्तो मुल्यमा सरसामान पाउने भएपछि उपभोक्ताहरु भिमनगर कुनौली, अनरामन, जोगमनी, लौकही लगायतका सीमा पारी बजारमा किनमेलमा जाने गरेको उनले बताए ।
बर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारबाट अभाव र महंगीमा जनताले राहत पाउने आशाको साथ भरोसा गरेपनि यसको सम्बोधन हुन नसक्दा उपभोक्ताहरु थप मारमा परेको नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष श्यामसुन्दर सिंह दनुवारले बताए ।
ठूलो विश्वास र आशाको साथ नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाई बहुमत नजिक पुत्त्याएको बताउँदै उनले नेपाली जनताले परिबर्तनको महसुस भन्दा अभाव र महंगीसंग लड्नुपर्ने पुरानो बाध्यताले निराशा बढेको बताए ।
महंगी कम गरी कसरी सर्वसाधारणलाई राहत मिल्छ भन्ने तर्फ भन्दा पनि दैनिक उपभोग्य बस्तुमा कर बढाएर सरकारले उपभोक्तालाई चरम शोषण गर्ने नीति ल्याएको उनले आरोप लगाए ।
सीमा पारीको बजारसंग मुल्य समायोजन हुने गरि नेपालका उधोगी व्यवसायीहरुलाई प्रोत्साहन गर्दै उपभोक्ताहरुलाई नेपाली बजारमा रोक्न सक्ने नीति ल्याउन सरकार असफल भएको अध्यक्ष दनुवाको भनाइ छ ।
चाडपर्वको मुखमा दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबुद्धिले सम्पूर्ण क्षेत्र अस्तव्यस्त भएको टिप्पणी गर्दै उनले यसको नियन्त्रण तर्फ सरकारले प्रभावकारी कदम उठाउनु पर्नेमा जोड दिए ।