उत्तम आचार्य
कंचनरुप १३ असोज ।
नेपाली कांग्रेस कञ्चनरूप नगरपालिकाको नगर सभापतिमा सुरज पोखरेल चयन भएका छन्। पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न नगर अधिबेशनबाट पोखरेल सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।
दुई दिनसम्म चलेको नगर अधिवेशनमा नगर नेतृत्वका लागि आकांक्षीहरूबीच लामो समयसम्म रस्साकसी चले पनि अन्तिम चरणमा सहमति जुटेपछि पोखरेललाई सर्वसम्मत नगर सभापति चयन गरिएको हो।
नगर सभापतिका लागि पप्पु गुप्ता आकांक्षी थिए भने सुरज पोखरेल र बैजु गुप्ताले उम्मेदवारी दिएका थिए। नेतृत्व चयनका क्रममा सहमतिको प्रयासलाई निरन्तरता दिइएपछि अन्ततः पोखरेलको नाममा सहमति जुटेको स्थानीय कांग्रेस नेताहरूले बताएका छन्।
नगर अधिवेशनबाट उपसभापतिमा समशिर शेख, सचिवमा अमरेन्द्रकुमार शाह र सहसचिवमा विद्यानन्द मण्डल चयन भएका छन्।
कञ्चनरूप नगरपालिकाका १२ वटै वडामा वडा सभापति तथा वडा कार्यसमिति यसअघि नै चयन भइसकेका थिए। वडा तहको नेतृत्व चयनपछि नगर अधिवेशनमार्फत नगर नेतृत्वसमेत टुंगो लागेसँगै कञ्चनरूपमा नेपाली कांग्रेसको स्थानीय संगठनात्मक संरचना थप व्यवस्थित भएको नेताहरुको दावी छ ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। स्थानीय तहमा पार्टीको संगठन सञ्चालन र आगामी गतिविधिलाई प्रभावकारी बनाउन नगर अधिवेशनलाई महत्वपूर्ण चरणका रूपमा लिइएको बताइएको छ।
नयाँ नगर कार्यसमिति चयन भएसँगै अब वडा तहका संगठनबीच समन्वय, पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने तथा स्थानीय तहमा संगठनलाई थप सुदृढ बनाउने जिम्मेवारी नयाँ नेतृत्वसामु आएको सभापति पोखरेलले बताए ।
आफ्नो नेतृत्वमा कञ्चनरूप कांग्रेसको जिम्मेवारी आएसंगै आगामी दिनमा संगठन विस्तार र पार्टी गतिविधिलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको भन्दै सभापति पोखरेलले आफुमाथि पार्टीले लिएको आशालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।