• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नगर प्रमुखमा गुप्ताको चर्चा, विकासको एजेन्डामा जोड

नगर प्रमुखमा गुप्ताको चर्चा, विकासको एजेन्डामा जोड
न्यूज टुडे
राजविराज, १३ असोज। 
वीरगञ्ज महानगरपालिकाको आगामी नेतृत्वका विषयमा चर्चा चलिरहेका बेला इन्जिनियर मनोजकुमार गुप्ताको नाम पनि सम्भावित नेतृत्वका रूपमा अगाडि आएको छ। विकास व्यवस्थापन, वातावरण तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गरेको अनुभवका आधारमा विभिन्न पेशागत तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूले गुप्तालाई नगर प्रमुख पदमा अघि बढ्न आग्रह गरेको हो ।
वीरगञ्ज देशकै प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र भए पनि सहरी व्यवस्थापनका समस्या समाधानमा अझै चुनौती रहेको उनीहरूको भनाइ छ। सडक, ढल, डुबान, फोहोर व्यवस्थापन, पार्किङ, यातायात, वातावरण, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन दीर्घकालीन योजना आवश्यक रहेको उनीहरुको कथन रहेको छ।
गुप्ताले वीरगञ्जको विकासलाई केवल भौतिक संरचना निर्माणसँग जोड्न नहुने बताएका छन् । नागरिकको दैनिक जीवन सहज बनाउने सेवा, सफा र सुरक्षित शहर, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य र रोजगारीका अवसरलाई विकासको मुख्य आधार बनाउनुपर्ने उनको धारणा छ।
उनले फोहोर व्यवस्थापनका लागि घर तथा व्यवसायबाटै फोहोर वर्गीकरण गर्ने प्रणाली विकास गर्नुपर्ने बताए। पुनःप्रयोग गर्न सकिने सामग्री छुट्याउने र जैविक फोहोरबाट उपयोगी वस्तु उत्पादन गर्ने प्रणाली विकास गरे फोहोर व्यवस्थापनसँगै रोजगारीको अवसरसमेत सिर्जना गर्न सकिने उनको भनाइ छ।
वर्षायाममा वीरगञ्जमा देखिने डुबानको समस्या समाधानका लागि पनि दीर्घकालीन जलनिकास योजना आवश्यक रहेकोले उनको जोड छ। सडक तथा ढल निर्माणलाई छुट्टाछुट्टै योजनाका रूपमा अघि बढाउनुको सट्टा महानगरको समग्र जलनिकास प्रणालीको अध्ययन गरी एकीकृत योजना बनाउनुपर्ने  गुप्ताको सुझाव छ।
वीरगञ्जको औद्योगिक सम्भावनालाई स्थानीय रोजगारीसँग जोड्नुपर्ने उनको धारणा छ। उद्योग तथा व्यवसाय सञ्चालनका लागि महानगरबाट उपलब्ध हुने सेवा सुधार, स्थानीय उद्यमशीलता प्रबर्द्धन , सीप विकास, स्टार्टअप तथा सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
युवालाई रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था कम गर्न स्थानीय उत्पादन, सीप र बजारबीच सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ। महानगरले निजी क्षेत्रसँग सहकार्य गरी लगानीका सम्भावित क्षेत्र पहिचान र नयाँ उद्यम सञ्चालनका लागि सहजीकरण गर्न सक्ने उनले बताए।
सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली विस्तार गर्नुपर्नेमा पनि गुप्ताले जोड दिएको छ। नागरिकले घरबाटै आवेदन दिन, सेवाको अवस्था बुझ्न र सेवा प्राप्त गर्ने समयबारे जानकारी लिन सक्ने प्रणाली विकास गर्नुपर्ने उनको योजना छ।
गुप्ताले अन्तर्राष्ट्रिय विकास संस्था तथा विभिन्न परियोजनामा १७ वर्षभन्दा बढी काम गरेको विवरण सार्वजनिक गरे। परियोजना व्यवस्थापन, वातावरण, नवीकरणीय ऊर्जा, विकास साझेदारसँगको समन्वय तथा नीतिगत संवादमा काम गरेको उनको बताएका छन् ।
पर्सामा कार्यरत रहँदा गरिबी न्यूनीकरण, समुदाय परिचालन तथा वैकल्पिक ऊर्जाका कार्यक्रमसँग समेत उनी जोडिएका  थियो। स्थानीय स्रोत र प्रविधिको प्रयोगमार्फत रोजगारी सिर्जना गर्ने प्रयासमा समेत उनको भूमिका रहेको उहाँसँग काम गरेका व्यक्तिहरूले बताएका छन्।
विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूले समेत गुप्ताको विकाससम्बन्धी अनुभवलाई महानगरको नेतृत्वसँग जोडेर हेर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस निकट श्याम पोखरेलले गुप्ताले राजनीतिकभन्दा कामलाई प्राथमिकता दिएको बताए। समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले पर्सामा रहँदा गुप्ताले न्यून आय भएका समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको स्मरण गरे।
नेकपा एमालेका नेता ज्वाला साहले स्थानीय स्रोत, सीप र प्रविधिमा आधारित उद्योगमार्फत रोजगारी सिर्जना गर्ने सोचलाई महानगरको विकाससँग जोड्न सकिने उल्लेख गरे।
गुप्ताले नगर प्रमुखको पदलाई व्यक्तिगत प्रतिष्ठाभन्दा सार्वजनिक जिम्मेवारीका रूपमा लिनुपर्ने बताए  महानगरका समस्या समाधानका लागि स्पष्ट योजना, समयसीमा, राजनीतिक तथा प्रशासनिक समन्वय र नागरिकप्रति जवाफदेहिता आवश्यक रहेको उनको भनाइ छ।
हालसम्म गुप्ताले वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेको छैन। उनको सम्भावित उम्मेदवारीसँगै भने वीरगञ्जको आगामी नेतृत्वमा शहरी पूर्वाधार, वातावरण, उद्योग, रोजगारी र सार्वजनिक सेवा सुधारका विषयले प्राथमिकता पाउन थालेका छन्।