• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बडादशैं,दीपावली,छठ लगायतका ठूला चाडपर्वहरु सन्निकट छन् । अवका केही दिनमा चाडबाड मनाउन घर जानेहरुको सार्वजनिक यातायातमा भिडभाड रहने हुन्छ । तर यही समयमा कतिपय सार्वजनिक सवारी साधनले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको पाईन्छ ।

भिडभाडको मौका छोप्दै बढी भाडा असुल्ने र यात्रुमाथि शोषण गर्ने परिपाटी पुरानै हो । अग्रिम टिकट बुकिंगको व्यवस्था गरेपनि केही दिनमै सिट प्याक भएको भनि बाँकी यात्रुलाई अग्रिम टिकट नदिएर रित्तो हात पठाउने र पछि बढी भाडा तिर्न तयार हुनेलाई सिट मिलाएर लैजाने परिपाटी नभेटिएको होईन । यात्रुले तोकिएको भाडा तिरेर यात्रा गर्न पाउनु पर्छ । यो उसको अधिकार पनि हो । तसर्थ शहरी क्षेत्रमा बढी भाडा लिने कुरामाथि निगरानीकालागि प्रहरी परिचालन त गरिएको हुन्छ । तर प्रहरीका पनि आँखा छलेर तोकिएको भन्दा बढी भाडा असुलेर यात्रु चढाउनेहरु बग्रेल्ती रहने गरेका कारण सबै यात्रुले सुपथ भाडा मै यात्रा गर्न पाएका हुन्छन् भनि ढुक्क भएर बस्ने अवस्था रहन्न ।

सर्वसाधारणमाथि पर्ने यस प्रकारका पिरमर्का प्रति सरकारले नै ध्यान पुर्याउने हो । तसर्थ बढी भाडा तिर्नकालागि जसरी यात्रुलाई बाध्य पारिएको हुन्छ त्यसको शुक्ष्म अनुगमन नगरिकन यो कुरा पत्ता नलाग्न सक्दछ । चाडबाडमा घर जाने सबैको रहर हुन्छ । तर बाटोदेखि नै यसरी बढी भाडा तिरेर ठगिनु पर्ने अवस्था आउँछ भने यो सरासर यात्रुमाथिको अन्याय नै मानिन्छ ।