उत्तम आचार्य
कञ्चनरूप , ११ असोज ।
हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व सोह्र श्राद्ध सुरु भएको छ। पितृहरूको सम्झनामा गरिने श्राद्धले दिवंगत आत्माप्रति सम्मान प्रकट गरिने सोह्र श्राद्ध आइतबार देखि सुरु भएको हो ।
आश्विन कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध औंसीका दिन समापन हुने धार्मिक परम्परा छ।
यस अवधिमा हिन्दु धर्मावलम्बीहरूले दिवंगत पितृहरूको सम्झना तथा सम्मानमा श्रद्धापूर्वक पिण्डदान, तर्पण र सिदा दान गर्ने चलन छ।
यस पर्वमा आफ्ना दिवंगत माता–पिता, बाजे–बज्यै तथा पुर्खाहरूको आत्माको शान्तिको कामना गर्दै विभिन्न धार्मिक विधिअनुसार श्राद्ध गर्ने गरिन्छ।
पितृप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइने सोह्र श्राद्धका दिनहरूमा देशभरका विभिन्न तीर्थस्थल तथा नदी किनारमा श्राद्ध तथा तर्पण गर्ने श्रद्धालुको चहलपहलसमेत बढ्ने गर्छ।
धार्मिक मान्यताअनुसार पितृहरूको सम्झनामा गरिने श्राद्धले दिवंगत आत्माप्रति सम्मान प्रकट गर्नुका साथै परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई निरन्तरता दिने विश्वास यस पर्वको रहेको हिन्दु धर्मावलम्बीले बताउँछन् ।