न्यूज टुडे
राजविराज, १० असोज ।
कोशी नदीमा पानीको बहाब बढेर बस्तीमा पस्दा सप्तरीको तिलाठीकोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र ५ का डेढ दर्जन घर डुवानमा परेको छ । दुई दिनदेखि परेको वर्षासंगै कोशी नदिमा आएको बाढीले बस्ती डुवानमा परेको हो ।
बस्तीमा पानी पस्दा दुवै वडाका १७ परिवार प्रभावित भएको वडा नम्बर–४ का अध्यक्ष मुनीलाल मुखियाले बताए ।
बाढी बस्तीमा पस्दा वडा नम्बर–४ का बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चुनाई खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया, अखिलेश मुखियाको घर डुवानमा परेको वडाध्यक्ष मुखियाले जानकारी दिए ।
यसैगरी वडा नम्बर–५ का भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मनटुन मुखिया तथा बेचु मुखियाका गरी १७ परिवारका ७९ जना प्रभावित भएको वडा नम्बर–५ का अध्यक्ष ललन प्रसाद राउतले बताए ।
बाढी प्रभावित परिवारको उद्धार र उनीहरूलाई सुरक्षित स्थानमा लगेर व्यवस्थान गर्ने काम भइरहेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले बताए । टिकुलियास्थित सशस्त्र प्रहरीको बेस क्याम्प बीओपी पनि डुबानमा परेको उनले जानकारी दिए ।