न्यूज टुडे
राजविराज,१० असोज ।
सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेत देखिएको छ । देशभर जारी निरन्तर बर्षाले कोशी नदिमा जल स्तर उच्च भएपछि खतराको संकेतको रुपमा शनिबार विहानदेखी रातो बत्ती बालिएको हो ।
पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खुला गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार शनिबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।
कोशीमा पानीको बहाव उच्च भएर खतराको जोखिम बढेपछि कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका उक्त बत्ती बाल्ने गरिन्छ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ । नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनका लागि सुरक्षा कर्मीले माइकिङ्ग गरिरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्णा थापाले बताए । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्क रहनका लागि सुरक्षाकर्मीहरुको साथमा आफै उपस्थित भएर आग्रह गरिएको उनले जानकारी दिए ।