• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘वन्यजन्तु अपराध नियन्त्रणमा संचार क्षेत्रको भुमिका अपरिहार्य’

‘वन्यजन्तु अपराध नियन्त्रणमा संचार क्षेत्रको भुमिका अपरिहार्य’
न्यूज टुडे
राजविराज,०९ असोज । 
वन्यजन्तु अपराध नियन्त्रणमा संचार क्षेत्रको भुमिका अपरिहार्य रहेको राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय कोशी संरक्षण कोष, कोशी संरक्षण केन्द्रद्वारा आयोजित वन्यजन्तु अपराध नियन्त्रणमा मिडिया  संलग्नता र जागरण विषयक सरोकारवाला तथा पत्रकार वीच कार्याशाला गोष्ठीमा सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै वक्ताहरुले वन्यजन्तु अपराध नियन्त्रणमा पत्रकारहरुको भुमिका प्रभावजारी बनाउनु अपरिहार्य रहेको बताए । 
डिभिजन वन कार्यालय सप्तरीका प्रमुख डिएफओ मनोज ठाकुरले मिडियाकर्मीसंगको कार्याशाला गोष्ठीले वन तथा वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सप्तरीमा वन तथा वन्यजन्तुको बर्तमान अवस्था र वन्यजन्तुबाट हुने मानवीय तथा अन्य क्षति बारे प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिएफओ ठाकुरले वन्यजन्तुबाट पीडित पक्षले पाउने सहयोग तथा राहतमा सहज पहुँच बढाउन पत्रकारिताको माध्यमबाट सहयोग गर्न आग्रह गरे । वन तथा वन्यजन्तु संरक्षण, जैविक विविधता र पर्यावरण सुरक्षामा पत्रकारहरुले खेल्ने भुमिका प्रभावकारी हुने डिएफको ठाकुरको भनाइ थियो ।
राष्ट्रिय कोशी संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख विरेन्द्र गौतमले वन्यजन्तु अपराध नियन्त्रणमा  पत्रकारहरुले पुर्‍याएको सहयोगको प्रशंसा गरे । समाचारमा आएको विषयले वन्यजन्तु अपराध नियन्त्रणमा ठुलो प्रभाव राख्ने उल्लेख गर्दै उनले समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिए । वन्यजन्तुको आक्रमणबाट बच्न र ठूलो दुर्घटना हुन नदिन जंगली जनावरको स्वभावलाई पहिचान गरि प्रभावित क्षेत्रका वासिन्दाहरु आफै सचेत भए वन्यजन्तु र मानव द्वन्द कम हुने उनले बताए । 
कोशी टप्पु वन्यजन्तु आरक्षकी निमित्त कार्यालय प्रमुख प्रतिभा सिवाकोटीले वन्यजन्तु अपराध न्यूनीकरणका लागि सकारात्मक समाचार सम्प्रेषण, प्रसारण, प्रकाशितका लागि आग्रह गरिन । आरक्ष भित्र संरक्षण गरिएको हात्ती, गैडा, अर्नासहित जनावरको तथ्यांक प्रस्तुत गर्दै उनले संरक्षित क्षेत्र भन्दा बाहिर हुने धनजनको क्षतिको आधारमा राहत उपलब्ध गराउँदै आएको बताइन् ।  आरक्षले उपलब्ध गराउने राहत तथा सहयोगमा पीडितको सहज पहुँच अभिवृद्धिका लागि पत्रकारहरुको सकारात्मक भुमिका अपरिहार्य हुने उनको भनाइ थियो । 
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले कार्यक्रमबाट वन्यजन्तु अपराध नियन्त्रणका लागि समाचार संकलनमा सहयोग पुग्ने भन्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रमले वन्यजन्तु अपराध नियन्त्रणमा कार्यरत सरोकारवालाहरु तथा पत्रकारहरुको सम्बन्ध विस्तार हुने भन्दै  उनले यस्ता गतिविधिमा पत्रकारहरुको संलग्नता र जागरण अपरिहार्य हुने बताए । 
अध्यक्ष देवको अध्यक्षतामा आयोजित कार्यक्रममा जंगली हात्ती, बाँदर लगायत जंगली जनावरको आतंक र यसले पारेको प्रभाव तथा नियन्त्रणमा सरकारी उदानसीनता बारे सहभागी पत्रकारहरुले टिप्पणी गरेका थिए । 
डिभिजन वन कार्यालय सप्तरीका रेन्जर दिपक टमटाद्वारा संचालित कार्यक्रममा राष्ट्रिय कोशी संरक्षण कोष, कोशी संरक्षण केन्द्रका वरिष्ठ संरक्षण शिक्षा सहायक संजीव धमलाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उदेश्य बारे प्रकाश पारे । 
कार्यशालामा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर कार्यरत राष्ट्रिय तथा स्थानीय मिडियामा आबद्ध पत्रकारहरुको सहभागीता थियो ।