न्यूज टुडे
राजविराज,०७ असोज ।
लागूऔषध कारोबारमा संलग्न सप्तरीका चार युवक काठमाडौमा पक्राउ पक्राउ परेका छन् । सप्तरी बलान बिहुल गाउँपालिका–१ का २० वर्षीय निकेश यादव, सुरूङ्गा गाउँपालिका–६ का २६ वर्षीय अन्जनी नन्दन चौधरी, राजविराज नगरपालिका–८ का २७ वर्षीय चन्दन यादव, छिन्नमस्ता गाउँपालिका–३ का २५ वर्षीय विक्रम कुमार शर्मा पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका विभिन्न स्थानबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले सप्तरीका चार जनासहित आठ जनालाई लागूऔषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरू अन्य चारजना सिराहा लहान नगरपालिका–१५ का २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका–५ का ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका–८ का ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका–१ का ३७ वर्षीय पवन दास रहेका छन् ।
उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान बरामद भएको प्रहरीले जनाएको छ ।