हलुवाई समाज नेपाल मधेस प्रदेश समितिद्वारा आयोजित जनजागरण अभियान सुरु भएको छ । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका १ स्थित कोशी व्यारेजमा सोमबार आयोजित एक समारोहका वीच जनजागरण अभियानको उद्घाटन गरिएको हो ।
हनुवाई समाज नेपालका संस्थापक अध्यक्ष शिव नारायण साह( सुरज ) र केन्द्रीय अध्यक्ष शत्रुधन प्रसाद साहले संगठनको झण्डा र राष्ट्रिय झण्डा उठाएर संयुक्त रुपमा जनजागरण अभियान तथा मोटरसाइकल र्यालीको उद्घाटन गरे ।
जनजागरण अभियान उद्घाटन गर्दै संस्थापक अध्यक्ष शिव नारायण साहले हलुवाई समुदायलाई कमजोर पार्ने षड्यन्त्र केही तत्वबाट हुन सक्ने भन्दै सचेत हुन आग्रह गरे । हलुवाई बाहेक केही जातिले आफूलाई हलुवाई भएको दाबी गरिरहेको प्रसंगको चर्चा गर्दै उनले हलुवाई बाहेक अरु जाति हलुवाई हुनै नसक्ने जिकिर गरे ।
हलुवाई जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने, संगठन विस्तार र जातीय पहिचान स्थापित गर्न जनजागरण अभियानको उदेश्य रहेकोले बताउँदै उनले अभियानको सफलताको लागि सबैको साथ सहयोग अपरिहार्य रहेको बताए ।
हलुवाई समाज नेपाल तेस्रो केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक जयप्रकाश साहले हलुवाई जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्नेमा जोड दिए । पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि हलुवाई समाजलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने उनको जोड थियो ।
अभियानका संयोजक एवम् प्रदेश अध्यक्षलाई टीका लगाएर स्वागत गर्दै संस्थापक केन्द्रिय अध्यक्ष साह । फोटो : न्यूज टुडे
हलुवाई समाज नेपाल मधेस प्रदेश अध्यक्ष एवम् जनजागरण अभियानका संयोजक रामशंकर साहले हलुवाई जातिको हकहित र उत्थानका लागि जागरुक बनाउने मोटरसाइकल र्याली तथा अभियानमा सहयोगका लागि आग्रह गरे । हलुवाई जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्नेसहितको माग राखी आन्दोलनको तयारी भईरहेको खुलासा गर्दै उनले आन्दोलनको पूर्वसन्ध्यामा बृहत मोटरसाइकल र्याली तथा जनजागरण अभियान आयोजना गरेको बताए ।
हलुवाई जातिको पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताका लागि जनजागरण गर्दै राज्यको ध्यानाकर्षण गराउने उदेश्यले निकालिएको मोटरसाइकल र्यालीमा सहभागीहरुलाई केन्द्रिय संस्थापक अध्यक्ष शिवनारायण साह ( सुरज) केन्द्रिय अध्यक्ष शत्रुधन प्रसाद साह, संस्थापक महासचिव महेश साह, तेस्रो महाधिवेशन आयोजक समितिका संयोजक जयप्रकाश साह लगायतले गम्छा, टीका , खदा लगाएर स्वागत सम्मान गरेका थिए ।
मोटरसाइकल र्यालीमा सहभागीहरु । फोटो : न्यूज टुडे
आयोजकका अनुसार सोमबार सप्तरीदेखि सुरु भएको मोटरसाइकल र्याली मधेसका आठै जिल्ला परिक्रमा गरि असोज १० गते समापन गरिनेछ ।
सप्तरीको कोशी व्यारेजबाट सोमबार ८ बजे निस्किएको मोटरसाइकल र्याली भारदह,बरमझिया हनुमाननगर हुँदै राजविराज नगरपालिका परिक्रमा गरि सोमबार ११ :३० बजे राजविराज ६ स्थित गणिनाथ मन्दिर परिसरमा कोण सभा आयोजना गरिएको थियो ।
प्रदेश अध्यक्ष साहका अनुसार पुन: राजविराजबाट सुरु भएको मोटरसाइकल र्याली रुपनी बजार, खरचुहीया, लाहान गोलबजार, धनुषाको ढ्ल्केबर हुदै महोत्तरीको बर्दिवास साँझसम्म पुग्ने कार्यक्रम रहेको छ ।
यसैगरी असोज ६ गते बर्दिवासबाट लालबन्दी, पथलिया हुँदै वीरगन्जमा रात्रीबास, असोज ७ गते हुलाकी सडक हुँदै बाराको कलैया, ककया, रौतहटको गौर र सर्लाहीको हरिपुर व्यारेजमा रात्रीबास बस्ने कार्यतालिका रहेको मोटरसाइकल र्यालीमा सहभागी मधेस प्रदेशका महासचिव बंशराज साहले बताए ।
मधेस प्रदेश अध्यक्ष रामशंकर साह । फोटो : न्यूज टुडे
यसैगरी असोज ८ गते सर्लाहीको मलंगवा ,महोत्तरीको गौशाला बजार रात्रीबास, असोज ९ गते महोत्तरीको समशी,जलेश्वरमा कोणसभा गरि धनुषाको जनकपुरमा रात्रीबास र असोज १० गते जनकपुरमा समापन कार्यक्रम गरिने महासचिव साहले जानकारी दिए ।
मोटरसाइकल र्यालीमा सहभागीहरुलाई विभिन्न चौक तथा शहरहरुमा स्वागत तथा खाना, चियापान र बासको व्यवस्थापन गरिएको महासचिव साहले बताए ।