नेपाल तामाङ घेदुङ मधेस प्रदेश समितीद्वारा तामाङ जागरण अभियान संचालन गरेको छ । मधेस प्रदेशका आठ वटै जिल्ला तथा वडा स्तर सम्म संचालन हुने अभियान आइतबार सप्तरीबाट सुरु भएको हो ।
अभियान उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
नेपाल तामाङ संघीय घेदुङको समन्वय , जिल्ला समिति सप्तरीको व्यवस्थापन तथा नेपाल तामाङ घेदुङ मधेस प्रदेश समितिद्वारा आयोजित एक समारोहका वीच प्रमुख अतिथि संघीय उपाध्यक्ष एवम् मधेस प्रदेश इन्चार्ज काजीमान थिङले पानसमा बत्ती बालेर तामाङ जागरण अभियानको उद्घाटन गरे ।
अभियान उद्घाटन गर्दै प्रमुख अतिथि संघीय उपाध्यक्ष थिङले अभियानले तामाङ जातिको भाषा, धर्म, संस्कृति, रितीरिवाज संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले आर्थिक तथा सामाजिक रुपान्तरणका लागि तामाङहरु जागरुक हुनपर्ने आवश्यकता औल्याए ।
तामाङ जातिमाथि सबैकालखण्डमा राज्य पक्षबाट दमन, शोषण, ज्याजती निरन्तर रुपमा भई रहेको चर्चा गर्दै संघीय उपाध्यक्ष थिङले अझै पनि तामाङ समुदायमाथि विभेद र उत्पीडन कायम रहेकोले यस विरुद्ध तामाङ समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै मधेस प्रदेश अध्यक्ष संजीव मोक्तान । फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम घिसिङले घेदुङकै कारण तामाङ समुदायले आफ्नो पहिचान स्थापित गर्न सफलता हाँसिल गरेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष श्यामसुन्दर सिंह दनुवारले जातीय,पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्तिको लडाईमा तामाङ जातिको अग्रणी भुमिका रहेको भन्दै प्रशंसा गरे । उनले तामाङ समुदायको देश विकासमा ठूलो योगदान रहेपनि राज्यबाट अवसर नपाउँदा पछाडि परेको बताए ।
मधेस प्रदेश अध्यक्ष संजीव मोक्तानले तामाङ समुदायमा रहेको सामाजिक विकृति न्यूनीकरण गर्दै असमानताको दुरी घटाउन सामाजिक न्यायका लागि राज्यको हरेक निकायमा पहुँच अभिवृद्धि गर्ने अभियानको उदेश्य रहेको बताए । अभियान अन्तर्गत मधेस प्रदेशको आठवटै जिल्लामा तामाङ जागरण अभिमुखिकरण कार्यक्रम संचालन गरिने उनको बताए ।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङले प्रदेश समितिले संचालन गरेको तामाङ जागरण अभियान अन्तर्गतको अभिमुखीकारण कार्यक्रमलाई वडा स्तरमा संचालन गर्ने बताए ।
कार्यक्रममा घेदुङका पूर्व केन्द्रीय सदस्य मेख बहादुर बम्जन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, पूर्व जिल्ला अध्यक्ष सन्तमान गोले, कञ्चनरुप नगर घेदुङका पूर्व अध्यक्ष गोपाल घिसिङ, दान बहादुर घिसिङले अभियानको औचित्यता र आवश्यकतामाथि टिप्पणी गर्दै अभियान तामाङ जनघनत्व भएको जिल्लामा संचालन गर्दा थप प्रभावकारी हुने सुझाव दिए ।
कार्यक्रम संचालन नेपाल तामाङ घेदुङ मधेस प्रदेशका मुख्य सचिब बाल कुमार जिम्बाले गरेका थिए ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित त्रीरत्न गुम्बामा आयोजित कार्यक्रममा घेदुङका प्रदेश कोषाध्यक्ष सरिता योन्जन, सदस्य अशोक योन्जन, संचारकर्मी प्रदिप घिसिङ, नेपाल तामाङ विद्यार्थी घेदुङ मधेस प्रदेश उपाध्यक्ष फुलमाया योन्जन ( मन्दिरा) नेपाल आदिवासी जनजाति महासंघ सप्तरीकी उपाध्यक्ष भद्र कुमारी सिंदन, सह सचिब रविना स्याङदन, विभिन्न पालिका अध्यक्ष, जिल्ला घेदुङ आवद्ध भातृसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतका तामाङ अगुवा तथा अभियानताहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण संघीय उपाध्यक्ष थिङले गरेका थिए ।