न्यूज टुडे
राजविराज,०४ असोज ।
सप्तरीमा २१ क्वीन्टल गाँजासहित दुई जना पक्राउ परेका छन् । सप्तरीको डाक्नेश्वरी न.पा.-६ फतेपुरका भोला सदा र मंगल मुखिया पक्राउ परेका हुन् ।
डाक्नेश्वरी न.पा.-६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २१ क्विन्टल (२१०० केजी) गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा आइतबार राती १ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार साह नेतृत्वको टोलीले सदा र मुखियाको घरमा खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका, अन्दाजी २१ सय केजी (२१ क्विन्टल) गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए ।
बरामद गाँजा र दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखिएको तथा यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।