नर्मदेव यादव
रुपनी,०२ असोज ।
श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीको नाममा ठगिएका श्रमिकहरुले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । नेपाल सरकार युवा श्रम तथा ब्यबस्थापन सुरक्षा बिभाग मधेस प्रदेश कार्यालय जनकपुरद्वारा सप्तरीमा शुक्रबार आयोजित निर्माण उधोगमा काम गर्ने श्रमिकहरुको लागि ब्यबसायिकजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रम बोल्दै मन्त्री यादवले स्वदेश तथा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका श्रमिकहरुको क्षतिपूर्ति भराई न्याय दिलाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । देशका विभिन्न स्थानमा रहेका श्रमिक,वैदेशिक रोजगारीको सिलसिलामा ठगिएको श्रमिकहरु मध्ये धेरैले क्षतिपूर्तिसहित न्याय पाएको अनुभुति गरेको उल्लेख गर्दै मन्त्री यादवले श्रमिकलाई ठगी गर्नेमाथिको कारबाही नरोकिने भन्दै यो रप्तारलाई थप सशक्त बनाउने बताए ।
देशमा ठूलो मात्रामा श्रमिक ठगीमा परेकोले अहिले पीडितहरुले न्यायको अनुभुति गरिरहे पनि समुन्द्रमा एकदुई गिलास पानी निकाले सरहमात्र भएको चर्चा गर्दै मन्त्री यादवले सिमित श्रोत साधनको अधिकतम् उपयोग गरि काम अगाडि बढाइएको बताए ।
सप्तरी जिल्लामा समेत धेरैले न्याय पाएको तथा अझै ठूलो संख्यामा पीडितहरु न्यायको पर्खाइमा रहेको भन्दै उनले उजुरी प्रक्रियालाई सहज बनाउन अन्लाईन उजुरी सेवा संचालनमा ल्याएकोले पीडितले घरमै बसेर उजुरी दिन सक्ने बताए ।
ठगीमा संलग्नमाथि पक्राउ पुर्जी जारी भए नभएको, अनुसन्धान गरे नगरेको तथा कारबाही भए नभएको त्यसको अवस्था ट्र्याक गर्न व्यवस्था समेत मिलाइएको उनले बताए । उनले पीडितहरुलाई उजुरी दिन थप सहयोग पुर्याउने उदेश्यले ३ दिने घुम्ती सेवा समेत संचालनमा ल्याएको बताए ।
मन्त्री यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न नीजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । देश विकास र श्रमिकहरुलाई रोजगारी दिन निजी क्षेत्रले अहम् भुमिका खेलेको मन्त्री यादवको भनाइ छ ।
श्रम तथा रोजगार व्यवस्थापन विभाग मधेस प्रदेशका वरिष्ठ अधिकृत सिकेन्द्र साहको अध्यक्षता आयोजित कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविन, रुपनी गाउँपाल्लिका अध्यक्ष दिनेश कुमार यादव, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, पत्रकार धिरेन्द्र प्रसाद साह लगायतले मन्तव्य व्यक्त गरे ।
रुपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख एसपी रुपक खड्का, सशस्त्र प्रहरी उपरीक्षक नवीन राई , राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उप निर्देशक कुलचन्द्र नेपाललगायतका जिल्लाका विभिन्न स्थानीय तहका रोजगार शाखाका रोजगार संयोजक तथा कर्मचारीहरु र पत्रकारहरुको उपस्थिति थियो ।