न्यूज टुडे
राजविराज,३० भदौ ।
सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका २४ वर्षीय अभिनन्द यादव अपहरणमा परेका छन् । पेस्तोल देखाउँदै घर पसेको ६/७ जनाको समूहले यादवलाई सोमबार मध्यरातमा उठाएर लगेको हो ।
राति करिब १२ बजे घरमै सुतिरहेका यादवलाई परिवारका सदस्यकै अगाडि नियन्त्रणमा लिएर लगिएको स्थानीयले बताए । उनको अवस्था अज्ञात रहेको यादवका काका अमोद यादवले बताए ।
प्रहरीलाई खबर गर्दा समेत नआएको भन्दै आक्रोशित आफन्त र स्थानीयले मंगलबार बेल्ही प्रहरी चौकी घेराउ गरेका छन्। राति ६÷७ जनाको समूह घरमा आएर परिवारकै अगाडि उठाए लगेको यादवले बताए । परिवारका सदस्यलाई पेस्तोल देखाएर भतिजालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
‘राति १२ बजे उनीहरू आउँदा हामी घरमा सुतिरहेका थियौं’ उनले भने, ‘उठ्न भनेपछि उठ्यौं, उठ्नेबित्तिकै पेस्तोल ताके,’ घरको गेट नै घेरेर मेरो भतिजालाई उठाएर लगे।’
अभिनन्दलाई बलान नदीको बाटो हुँदै भारततर्फ लगेको परिवारको आशंका छ। घटनास्थलबाट भारतीय सीमा करिब ५ सय मिटरको दूरीमा रहेको आमोदले बताए। घटनालगत्तै प्रहरीलाई जानकारी गराए पनि तत्काल प्रहरी नआएको आफन्तको आरोप छ।
मंगलबार बिहान आफन्त र स्थानीयवासीले बेल्हीस्थित प्रहरी चौकीअगाडि प्रदर्शन गर्दै घेराउ गरेका हुन्। बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी हुँदाहुँदै घरबाटै युवकलाई उठाएर लगिनु गम्भीर विषय भएको बताए।
‘नजिकै प्रहरी चौकी र बीओपी बेल्ही छ। तर घरबाटै उठाएर लग्दा पनि त्यहाँका प्रहरीलाई खबर छैन,’ झाले भने, ‘प्रहरी यस्ता घटनामा गम्भीर बन्नुपर्छ।’ उनले बेपत्ता भनिएका अभिनन्दको तत्काल खोजी गरी अवस्थाबारे परिवारलाई जानकारी गराउन प्रहरीसँग आग्रह गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी हेमराज घिमिरेले युवकको खोजी भइरहेको जानकारी दिए। प्रारम्भिक रूपमा अभिनन्द भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर लगेको भन्ने जानकारी प्रहरीलाई प्राप्त भएको उनले बताए ।
‘उता (भारत) मा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले लगेको प्रारम्भिक जानकारी आएको छ,’ डिएसपी घिमिरेले भने, ‘पेस्तोल बोकेर आएको कुरा जानकारीमा छैन। हामीसँग समन्वय पनि गरेको छैन।’
उनले घटनाबारे थप तथ्य बुझ्न भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए। यद्यपि, परिवारले भने पेस्तोलसहित आएको समूहले घरबाटै अभिनन्दलाई उठाएर भारततर्फ लगेको दाबी गरेको छ। प्रहरीका अनुसार भारतीय पक्षबाट भएको भनिएको नियन्त्रणको विषयमा थप विवरण प्राप्त गर्न समन्वय भइरहेको छ।
सीमा नजिकैको बस्तीबाट मध्यरातमा घरमै पुगेर युवकलाई लगिएको घटनापछि स्थानीयले सुरक्षामाथि प्रश्न उठाएका छन्। घटनाबारे नेपाल प्रहरी र भारतीय प्रहरीबीचको समन्वयबाट थप तथ्य खुलेपछि अभिनन्दको वास्तविक अवस्था र उनलाई कसले, कुन कारणले नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट हुने डिएसपी घिमिरेले बताएका छन् ।