गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पटक पटक अनेक प्रकारका काण्ड हुँदै आएका छन् । अस्पतालमा विरामीको उपचार भन्दा अनेक तिकडम गरी कमाउन केही गिरोह पल्केका कारणले यसको अवस्था बिग्रँदै गएको भनि जनमानसमा चर्चा परिचर्चा हुँदै आएको पनि हो ।
जनगुनासो बढेपछि माथिबाट निरीक्षणमा आउने व्यक्तिलाई पनि तिनै गिरोहका व्यक्तिले अगुवा पछुवा गर्ने,भएनभएका कुरा सुनाउने,स्वागत सत्कारका नाममा चाकडी बजाएर निरीक्षणमा आएकालाई मक्ख तुल्याई पठाउने गरिएका कारण समस्याको जरोसम्म पुगेर अनुसन्धान हुन नसकेको भन्ने असन्तुष्टी समेत नउठेको होईन । गिरोह तयार गरी अस्पतालबाट विभिन्न नाममा लुटतन्त्र मच्चाउन पल्केकाहरुले गर्दा जतिसुकै लगानी गरिएपनि वालुवामा पानी खन्याएसरह भएको असन्तुष्ट पक्षको कथनलाई गम्भीर रुपमा लिन आवश्यक छ । विभिन्न नाममा कर्मचारी भर्ति गरेर अस्पतालमाथि आर्थिक भार बोकाउने तर त्यसका बाबजुद पनि उपचार सेवा सन्तोषजनक नहुने हो भने यसरी भएको लगानीको औचित्य के हुन सक्ला ? अस्पतालमा विभिन्न नेताले समय समयमा अनुगमन गर्ने,समस्या समाधानमा प्रतिबध्दता जनाउने गरेको भए पनि काम चाहिँ केही पनि नभएका कारण यस्तो अनुगमन फगत देखाउनकालागि मात्र सिमित रहेको भन्दा अन्यथा नहोला । सांसद,मन्त्री कोही न कोही अस्पतालको अवस्था बुझ्न पुगेका भए पनि एकआध घण्टा बसेर स्वागत सत्कार ग्रहण गरी फर्कने अनि फेरि त्यसमा चासो नलिने गरेका कारण यो कार्य सतही रुपमा मात्र सिमित रहने गरेको बताईन्छ ।
अस्पतालमा वर्षौंदेखि विभिन्न नाममा भएको आर्थिक अनियमितता,कर्मचारी भर्ना, त्यसको आवश्यकता र औचित्य लगायतका सबालमा शुक्ष्म ढंगबाट अनुसन्धानको आवश्यकता छ ।