न्यूज टुडे
राजविराज,२७ भदौ ।
रसुवा भोटेकोसी नदीमा परि १८ दिनदेखि सम्पर्क बिहिन रहेका सप्तरीको राजविराज नगरपालिका वडा नं १६ का तीन जना (सदा) मुसहर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। सस चिल्ड्रेन भिलेज संस्थाले पीडित परिवारको घरमै पुगेर शनिबार राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको हो ।
स्थानीय बेचन सदा, शिव कुमार सदा र सुरेन्द्र सदाका परिवारलाई संस्थाले ५० केजी चामल,१० केजी दाल,१० केजी तेल,१० केजी आलु,७ केजी प्याकेज र पाँच केजी नुन प्रति परिवार उपलब्ध गराएको सस चिल्ड्रेन कर्जन्हाको परियोजना संयोजक सरोज देवले जानकारी दिए ।
बिपन्नमा अति बिपन्न रहेको यी तिनै परिवारको कमाउने अभिभावक नै बाढी पछि सम्पर्क बिहिन रहेको जानकारीमा आएपछि तत्काल छाक टार्नका लागि खाद्यान्न सामाग्री उपलब्ध गराएको उहनले बताए । ‘यस्तो पीडादायी क्षणमा तत्काल खानपिनका लागि समस्या नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’ उनले भने
संस्थाका कार्यक्रम संयोजक कृष्णकाजी केसी,वडा अध्यक्ष राम एकबाल यादव,स्वास्थ्यकर्मी डा.रामचन्द्र यादव, लगायत स्थानीय युवासहित स्थानीयको उपस्थितिमा राहत वितरण गरिएको थियोे ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बिनासकारी बाढीमा परि सदा( मुसहर) बस्तीका का ४० वर्षिय बेचन सदा अझै सम्पर्कमा आउन नसकेपछि उहाँको चार छोराछोरी बिचल्लीमा परेका छन् ।
९ महिना अघि आमा गुमाएको र अहिले बुवा पनि सम्पर्क बिहिन भएपछि चार सन्तान बिचल्लीमा परेका हुन् । आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्युु भएको र १८ दिनदेखि बुबापनि सम्पर्क बिहिन भएपछि १३ वर्षिय छोरा सुभाष र ९ वर्षिया छोरी बिभा सदा सहित बिचल्ली परेका छन् ।
त्रिशूली थ्रिवि पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदा सँगै सोही ठाउँका सुुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोसीमा आएको बाढीपछि १८ दिनदेखि सम्पर्क बिहिन भएपछि उनीहरूको परिवारलाई छाक टार्न समस्या हुँदै आएको थियोे ।