न्यूज टुडे
राजविराज,२५ भदौ ।।
मध्यरातको २ बजे चारैतिर निस्तब्ध सन्नाटा थियो त्यही सन्नाटालाई चिर्दै प्रसव पीडाले छटपटाइरहेकी एक असहाय आमाको कारुणिक चित्कार गुञ्जिरहेको थियो। तर, गरिब र विपन्न हुनुको अपराधमा त्यो चित्कार सुन्ने अस्पतालका बन्द ढोका र त्यहाँभित्रका पत्थर मनहरू पग्लेनन्।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सरकारी अस्पताल— जहाँ गरिब र निमुखा नागरिकहरू बाँच्ने अन्तिम आशा बोकेर पुग्छन्। तर, बुधबार राति त्यही ‘आशाको मन्दिर’ पैसाको अभावमा एउटी आमाका लागि क्रुर र निष्ठुरी बन्यो।
सुत्केरी व्यथाले थलिएर अस्पताल पुगेकी सप्तरीको राजविराज नगरपालिका १४ की ३० बर्षीया विनिता कुमारी पासवान उपचार खर्च नहुँदा अस्पतालबाट बाहिरीनु पर्यो । ती विपन्न महिलासँग जब स्वास्थ्य परिक्षणको रिपोर्ट माग्यो, स्वास्थ परिक्षण गर्नसम्म खर्च नभएपछि तब गरिबीको पीडा प्रसव वेदनाभन्दा पनि भारी भइदियो। रित्तो हात र आँसु मात्र साथमा भएकी ती गर्भवतीले दयाको याचना गरिन्, तर पैसा तिर्न नसकेकै कारण उनलाई उपचार गर्नुको सट्टा अस्पतालबाट निर्दयीपूर्वक बाहिर निकालियो।
प्रसव पीडाले शरीर गलिसकेको थियो, पाइला सार्ने शक्ति थिएन। अन्ततः ती बेसहारा महिला अस्पतालको मूल गेटबाहिर, चिसो र धुलाम्य सडकमै लडिन् र त्यही कालो पिचमा छटपटिँदै बच्चा जन्माउन बाध्य भइन्। न त्यहाँ कुनै डाक्टर थिए, न नर्स, न त कुनै सहारा। त्यो रात सडकमा जन्मिएको नवजात शिशुको पहिलो रुवाइले अस्पतालको पर्खाललाई त केही फरक पारेन, तर समग्र मानवता र राज्यको लाचार स्वास्थ्य प्रणालीलाई भने नराम्ररी लज्जित बनाइदियो।
गरिबीकै कारण सडकमा जीवनको भिख माग्नुपर्ने यो कस्तो विडम्बना? सरकारी अस्पतालकै आँगनमा पैसा नभएकै भरमा एउटी आमाले सडकमै सन्तान जन्माउनुपर्ने यो दृश्यले जो-कसैको पनि मुटु चसक्क हुन्छ।
‘यो एउटा लापरबाही मात्र होइन, गरिबमाथिको चरम अमानवीय अपराध हो’ यस हृदयविदारक घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन हुनैपर्छ’ भन्दै सार्वजनिक रुपमा चौतर्फी दवाव सिर्जना गरिएको छ । जीवन दिने अस्पतालको दैलोबाट पैसाकै कारण कसैले यसरी लखेटिनु नपरोस्, र कुनै पनि आमाले आफ्नो कोख सडकमा रित्त्याउनु नपरोस्। मानवतालाई नै कलंकित पार्ने यस्तो अमानवीय व्यवहार अब कसैमाथि कहिल्यै दोहोरिनु हुँदैन!
अस्पतालका निमित्त प्रमुख जितेन्द्र कँडेलले सुत्केरी व्याथा लागेर आएको महिला ३० बर्षिया वविता कुमारी पासवान भएको पुष्टि गर्दै अस्पतालले बाहिर निकालेको भन्ने आरोप अस्वीकार गरे । उनले पासवानसंग आएका आफन्तहरुलाई रगत, पिसाब लगायतका अनिवार्य गर्नुपर्ने स्वास्थ्य परिक्षण गराउन भन्दा उनीहरुले जाँच नगराई आफै अस्पतालबाट निस्किएको बताए ।
गेटमा बच्चा जन्माएको थाहा पाएपछि अस्पतालमा सालनालसहित आवश्यक उपचार गरि डिस्चार्ज गरिएको डा. कँडेलले बताए । उनले चौथो सन्तानको रुपमा उक्त शिशुको जन्म दिएकी थिइन् ।
सामाजिक संजालमा बिहिवार विहानदेखि भिडियो भाइरल भएपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।