उत्तम आचार्य
कञ्चनरूप , २४ भदौ ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सप्तरीले जिल्लाभित्र बिमा गरिएका पशु–पन्छीहरूको स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई तीव्र पारेको छ । पशु बिमा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले अस्पतालले किसानका गोठमै पुगेर अनुगमन गर्न थालेको हो ।
यसै क्रममा अस्पतालका निमित्त प्रमुख निरञ्जन यादवको नेतृत्वमा खटिएको कर्मचारी तथा प्राविधिक टोलीले जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ स्थित महुली तथा मोहनपुरका किसानहरूको गोठ र फार्मको प्रत्यक्ष निरीक्षण गरेको छ । टोलीले स्थानीय कृषकहरू अम्बिका प्रसाद कोइराला, पवित्रा देवी आचार्य लगायत एक दर्जनभन्दा बढी किसानको फार्ममा पुगी पशु–पन्छीको स्वास्थ्य अवस्था, गोठ व्यवस्थापन र बिमाको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।
अनुगमनका क्रममा स्थानीय किसान पवित्रा देवी आचार्यले प्राविधिक टोली आफ्नै गोठमै आएर अनुगमन गर्नु किसानहरूका लागि ठूलो उपलब्धि भएको बताइन । यस प्रकारको कार्यले किसानमा उत्साह थपेको र समस्याहरू तत्काल समाधान गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।
उक्त अनुगमन तथा निरीक्षण कार्यक्रममा दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीका अभिकर्ता प्रकाश आचार्यको समेत सहभागिता र सहजीकरण रहेको थियो ।
वास्तविक किसानहरूलाई राज्य र बिमा कम्पनीबाट मिल्ने सेवा सुविधामा सहजता पुर्याउन यो अभियान सुरु गरिएको अस्पतालका कर्मचारी एवं प्राविधिक ईश्वर साहले बताए । बिमा कार्यक्रममा हुन सक्ने विकृति रोक्न र किसानलाई प्रोत्साहन गर्न भेटेरिनरी अस्पतालले यस्तो स्थलगत अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने साहले जानकारी दिए ।