• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गोबरगाढाका १ सय १ परिवारलाई नगरपालिकाद्वारा राहत वितरण

गोबरगाढाका १ सय १ परिवारलाई नगरपालिकाद्वारा राहत वितरण
न्यूज टुडे
राजबिराज,२३ भदौ । 
 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाबासीलाई नगरपालिकाद्वारा मंगलबार राहत वितरण गरेको छ । कोशी नदीको बाढीबाट प्रभावित स्थानीय १ सय १ परिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो । 
कोशीको भंगालोले चारैतिरबाट घेरिएर बस्तीमा पानी पसेपछि नगरपालिकाले यसअघि नै गोबरगाढाका स्थानीयलाई टापुको अग्लो स्थानमा टेन्टसहितको अस्थायी बसोबास निर्माण गरेको नगर प्रमुख विरेन्द्र माझीले बताए । 
बस्तीमा बाढीको जोखिम बढेपछि नगर प्रमुख माझीले स्थानीयलाई टापु तथा जोखिमयुक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा सर्न आग्रह गरेका थिए । तर स्थानीयले आफ्नो थातथलो छाड्न नमानेपछि नगरपालिकाले गोबरगाढामै अस्थायी बसोबासको व्यवस्था गर्नुका साथै खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरेको हो ।
मंगलबार नगर प्रमुख माझीको नेतृत्वमा एक सय एक बाढीपीडित परिवारलाई राहत  स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको छ । प्रत्येक परिवारलाई २५ किलो चामल, ५ किलो भुजा, २.५ किलो दाल, १ किलो नुन, १ थान त्रिपाल र २ लिटर खाने तेल लगायतका सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
चारैतिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा बाढीको जोखिम कायमै रहेकाले स्थानीयको सुरक्षा, अस्थायी बसोबास, खाद्यान्न, खानेपानी तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको नगर प्रमुख माझीले बताए ।