उत्तम आचार्य
कञ्चनरुप , २० भदौ ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिकामा शनिबार भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ। श्री श्री १०८ राधाकृष्ण मन्दिर युवा रथयात्रा समिति, कञ्चनरुप–४ कञ्चनपुरको आयोजनामा सो बृहत रथयात्रा सम्पन्न भएको हो।
भगवान श्रीकृष्णको जन्मोत्सवको उल्लासका बीच राधाकृष्ण मन्दिरको प्राङ्गणबाट विधिवत् रूपमा सुरु भएको रथयात्राले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। रथयात्रा कञ्चनपुर बजार, बेरियर, विष्णु मन्दिर टोल, रुपनगर चोक, काष्ठमहाल, शनिबारे हटिया, मिलन चोक र बिपि चोक लगायतका क्षेत्रहरूमा परिक्रमा गर्दै पुनः राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो। रथयात्रा सडकमा निस्कँदा दर्शन गर्ने र पूजाअर्चना गर्ने श्रद्धालुहरूको घुइँचो लागेको थियो।
सांस्कृतिक झाँकी र उल्लासमय वातावरण जन्माष्टमीको रौनकलाई थप आकर्षक र उल्लासमय बनाउन रथयात्रामा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएका थिए। यात्रामा परम्परागत पञ्चेबाजा, लाखे नाच तथा विभिन्न भजन कीर्तन टोलीहरूले भक्तिमय संगीत प्रस्तुत गरेका थिए। भजनको तालमा श्रद्धालुहरू झुमिरहेका देखिन्थे।
हजारौँको उत्साहजनक सहभागिता
श्रीकृष्ण जन्मोत्सवको यस धार्मिक र्यालीमा कञ्चनरुप नगर क्षेत्र तथा आसपासका हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, धार्मिक व्यक्तित्व, सञ्चारकर्मी तथा विशेष गरी महिलाहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।
स्थानीय स्तरमा धार्मिक सद्भाव बढाउन, श्रीकृष्ण जन्माष्टमीको महिमा फैलाउन र परम्परागत संस्कृतिको जगेर्ना गर्न यो रथयात्राले महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्