न्यूज टुडे
राजविराज,१७ भदौ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी एकपछि अर्को विवादमा तानिने गरेका छन् । गाउँपालिकाको कार्यालय सार्ने षड्यन्त्र बाहिरीएसंगै फेरि अध्यक्ष चौधरी विवादमा तानिएका हुन् ।
स्थानीय पूर्वाधार विभाग पुल्चोक, ललितपुरमा जग्गाको चारकिला समेत प्रमाणित गरि प्रशासकीय भवनका लागि बजेट विनियोजन गरिदिने भनि पठाएको पत्र सार्वजनिक भएपछि अध्यक्ष चौधरीको अर्को काण्ड चर्चामा आएको छ ।
अचम्मको कुरा के पाइएको छ भने पूर्वाधार विभाग, वडाको चारकिल्ला सिफारिस र भूमिसुधार/ मालपोत भूमी प्रशासन कार्यालय सप्तरीमा गरिएको जग्गाधनी दर्ता प्रमाणपत्रमा एकै मिति उल्लेख गरिएको छ ।
पूर्वाधार विभागमा पठाएको पत्रमा अध्यक्ष चौधरीले र जग्गाको चारकिला सिफारिसमा वडा नम्बर १ का अध्यक्ष सवजुल खलिफाले हस्ताक्षर गरेका छन् । जग्गा धनी जण्डोल गाविस उल्लेख गरिएको जग्गाधनी दर्ता प्रमाणपत्रमा नायव सुब्बाको हस्ताक्षर रहेको पाइएको छ ।
साविक जण्डोल गाविसको नाउँमा रहेको कित्ता नं. २३५,६६४ र ६६५ को जग्गा उल्लेख जग्गाधनी दर्ता प्रमाणपत्रमा २०८३ साउन १९ गते नायव सुब्बाले प्रमाणित गरेको उल्लेख छ । साथै सबै कार्यालयबाट जारी भएको पत्रमा सोही मिति राखिएको छ ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ का अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता तेज नारायण यादवले प्रशासकीय भवन तथा जग्गा सम्बन्धि विषय अध्यक्ष चौधरीको व्यक्तिगत भएको बताए । गाउँपालिकाको ठाउँसारी बारे पालिकाको कुनैपनि बैठकमा प्रस्तावसम्म नआएको उनले जानकारी दिए ।
पालिकाको ठाउँसारी र नाम परिबर्तन गर्न गाउँसभामा प्रस्ताव लगेर निर्वाचित गाउँसभा सदस्य मध्ये दुईतिहाई बहुमतले पारित गर्ने कानूनी व्यवस्था रहेको जानकारी गराउँदै वडाध्यक्ष यादवले यस बारे कुनै प्रक्रिया नभएको बताए ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले प्रशासकीय भवनका लागि जग्गा व्यवस्था गरि बजेट निर्धारणका लागि पत्र पठाएको स्वीकार गरे । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ की साँसद पुष्पा कुमारी चौधरीले प्रशासकीय भवनका लागि बजेटको आश्वासन दिएपछि हतारमा एकै दिन प्रमाण जुटाएर पठाएको उनले बताए ।
माननीय ज्यूले बजेट विनियोजनमा पहल गर्ने भनी पत्र पठाउन निर्देशन गरेपछि तल्कालिन जण्डोल गाविसको नाममा रहेको ८ कठ्ठा क्षेत्रफल भएको जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र र चारकिला सिफारिससहितको पत्र हतारमै माननीय ज्यूको आदेश अनुसार उहाँकै वर्डशँपमा पठाएको अध्यक्ष चौधरीले जानकारी दिए ।
आवश्यक प्रक्रिया समेत पूरा नगरिएको स्वीकार गर्दै उनले माननीय पुष्पा चौधरीले विभागमा पठाएको वा नपठाएको भन्ने बारे आफूसमेत अनविज्ञ रहेको बताए ।
अध्यक्ष चौधरीले गरेको हर्कत सार्वजनिक हुनसाथ सार्वजनिक रुपमा विरोध हुन थालेको छ भने अध्यक्ष चौधरी पुन:एकपटक चर्चामा आएका छन् ।
यसअघि इटहर्वा बजारको जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको अध्यक्ष चौधरीलाई आरोप लागेको थियो । सोही विषयमा सत्ता र सडक दुबै स्थानबाट चर्को विरोध भएपछि अध्यक्ष चौधरीले पदबाट राजिनामा दिएको पत्र सार्वजनिक भएको थियो ।
विवाद कार्यपालिकासम्म पुगेर बहुमत कार्यपालिका सदस्यको निर्णयले उपाध्यक्ष कल्पना कुमारी चौधरीलाई कार्यबाहक अध्यक्ष तोकिएको थियो । कार्यपालिकाको निर्णयलाई बदर गर्न अध्यक्ष चौधरीले गरेको रिटमा अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेपछि उनी आठ महिनाबढी अध्यक्षको जिम्मेवारीबाट अलग बस्नु परेको थियो ।
आठ महिना पछि उच्च अदालत जनकपुर -राजविराजले निवेदनमा सुनुवाइ गर्दै अध्यक्ष चौधरीको पक्षमा आदेश गरेपछि उनी अध्यक्षको जिम्मेवारीमा फर्किएका थिए ।
हाल अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालय वडा नम्बर २ स्थित कलौनी सितापुरमा संचालनमा छ ।