बाढी प्रभावित क्षेत्रका बासिन्दामा यति बेला महामारीको जोखिम बढ्दो छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको एक साता भईसकेको छ । यस क्रममा सरकारले उध्दार तथा राहतमा तदारुकताका साथ काम भईरहेको बताईरहँदा कैयौं परिवारले बाढीमा बेपत्ता भएका आफन्त फेला नपरेको गुनासो गरिरहेका छन् । क्षति बढी भएका कारण सबै ठाउँमा एकै पटक उद्धार तथा राहतको काम गर्न नभ्याएको,विकटताका कारण पनि उद्धार तथा राहतमा ढिलाई भएको हुन सक्दछ । उद्धार तथा राहतकै काममा बढी ध्यानका साथ काम भईरहे पनि यति बेला बाढी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलने जोखिम पनि छ । ती क्षेत्रमा शुद्ध पिउने पानी, स्वच्छ खानेकुराको अभाव तथा बढ्दो फोहरका कारणले पनि महामारीको जोखिम बढेको हो । यति बेला बाढीमा परेकाहरुको उध्दार तथा राहतलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने आवश्यकता त छँदैछ । यसका साथै रोग फैलिन नपाओस् भन्नाकालागि स्वास्थ्य रक्षा समेतलाई ध्यान दिएर काम गर्नु पर्ने भएको छ । बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको व्यवस्था तथा स्वस्थ्यकर खानेकुराको व्यवस्था मिलाउन आवश्यक छ । यसका साथै सरसफाईलाई पनि प्राथमिकतामा राखेर काम गर्नु पर्ने आवश्यकता बढेको छ ।
फोहरका कारण विमारी फैलिन थाल्यो भने यसले थप समस्या पैदा गर्न सक्छ भन्ने कुरालाई बिर्सन मिल्दैन । यसकालागि आवश्यक व्यवस्था मिलाएर काम गर्नु पर्ने हुन्छ । बाढी पछि आउन सक्ने रोगहरुका बारेमा जानकारीका साथै तिनबाट जोगिने उपायका बारेमा जनचेतनामूलक काम भयो भने त्यो उपयुक्त हुनेछ ।