न्यूज टुडे
राजविराज,१६ भदौ ।
हरवा चरवाद्वारा अधिकार सुनिश्चित गर्न माग गर्दै मधेष भवन आगाडि प्रदर्शन गरेका छन्। हरवा चरवा संघर्ष समिति, मधेश प्रदेशको अगुवाइमा आइतबार उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले सरकारले आफूहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।
उनीहरुले लागत संकलन प्रमाणीकरण गरी परिचयपत्र वितरण गर्नुपर्ने, साथै भूमिहीन हरवा चरवा परिवारको पहिचान गरी पुनर्स्थापना सुनिश्चित गर्न स्पष्ट कार्ययोजना तत्काल स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन्।
वर्षौंदेखि भूमिहीन तथा श्रम शोषणमा पर्दै आएका हरवा चरवा समुदायको समस्या समाधानका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारासहित आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रदर्शनकारीहरुले विभिन्न नारा लगाउँदै बजार परिक्रमा गर्नुको साथै मधेस भवन अगाडि धर्ना समेत दिएका छन् ।