नेपाल प्रेस युनियन सप्तरीको नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । नेपाल प्रेस युनियन सप्तरीद्वारा राजविराजमा सोमबार आयोजित एक समारोहका वीच आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदास्थ्पना गरिएको हो ।
प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष माझी । फोटो : न्यूज टुडे
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्णको अध्यक्षता तथा नेपाली काँग्रेस मधेस प्रदेशकी सह महामन्त्री विन्दु यादवको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच प्रमाणपत्र प्रदान गरि नवनिर्वाचित अध्यक्ष मनोज कुमार माझीसहित पदाधिकारीहरुलाई पदास्थापना गरिएको थियो ।
पदास्थापना पछि नवनिर्वाचित अध्यक्ष माझीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार पत्रकार विरोधी भएको आरोप लगाए । नयाँ सरकार गठन भएदेखि नै पत्रकार र मिडियामाथि निरन्तर आक्रमण जारी राखेको आरोप लगाउँदै बक्ताहरुले सरकारको बिभेदकारी नीति विरुद्ध एकजुट हुनपर्नेमा जोड दिए ।
निजी संचार माध्यममा विज्ञापानमा गरिएको भेदभाव, लोककल्याणकारी विज्ञापनमा लगाइएको प्रतिबन्ध तथा भर्खर गरिएको भारी कटौती सरकारले पत्रकारलाई पीडा दिन गरिएको निर्णय भएको चर्चा गर्दै बक्ताहरुले प्रेस स्वतन्त्रता र लोकतन्त्रका रक्षक पत्रकारमाथि हुने आक्रमणले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता खतरामा परेको भन्दै चिन्ता व्यक्त गरे ।
उनीहरुले पत्रकारलाई पीडा दिने नियतले षड्यन्त्रपूर्वक लोककल्याणकारी विज्ञापनमा कटौती गरिएकोले सरकारले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
विगतमा लोकतन्त्रमाथि खतरा हुँदा नागरिक अगुवा, राजनीतिक दल तथा त्यसका जनबर्गीय संगठनहरु सडकमा उत्रीने गरेको स्मरण गराउँदै बक्ताहरुले पछिल्लो समय त्यस्ता गतिविधिले निरन्तरता नपाउँदा जनता निरीह तथा सरकार निरंकुश हुँदै गएको दावी गरे ।
प्रमुख अतिथि यादवले पत्रकारहरुलाई सरकारले गरेको आर्थिक नाकाबन्दी लोकतान्त्रिक मुल्यमान्यता विपरीत भएको बताए । लोकतन्त्रको रक्षाका लागि निरन्तर खबरदारी गर्ने पत्रकारहरुलाई थप सुविधा दिनुपर्नेमा सरकारले कटौती गरेर निरंकुशता प्रदर्शन गरेको चर्चा गर्दै उनले नेपाली काँग्रेस पत्रकारमाथि हुने भेदभाव विरुद्ध आवज उठाउन अग्रपंक्तिमा रहने बताइन् ।
नेपाली काँग्रेसका नेता एवम् संविधान सभा सदस्य सकलदेव सुतिहारले नेपाली काँग्रेस प्रेस स्वतन्त्रताप्रति पूर्ण बफादार रहेको बताए । उनले पत्रकारमाथि हुने सबैखाले आक्रमणको प्रतिकार गर्न नेपाली काँग्रेस तत्पर रहने बताए ।
नवनिर्वाचित अध्यक्ष माझीले आफ्नो नेतृत्वको कार्यसमितिमाथि संगठनले राखेको आशा, भरोसालाई कहिल्यै निराशामा बदलिन नदिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य सुधा देव,नेपाली काँग्रेस सप्तरीका सचिब सनत मण्डल, नेपाल प्रेस युनियन मधेस प्रदेश उपाध्यक्ष धिरेन्द्र प्रसाद साह, निवर्तमान अध्यक्ष विनयलाल कर्ण, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु कुमार यादवले मन्तव्य व्यक्त गरे ।
निर्वमान सचिब रमानन्द देव र नवनिर्वाचित सचिव परिष कर्णद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत नवनिर्वाचित उपाध्यक्ष ललिता साहले गरिन ।
गत भदौ ०७ गते सम्पन्न नेपाल प्रेस युनियन सप्तरीको आठौं अधिवेशनले माझीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा नवीन कुमार गुप्ता, महिला उपाध्यक्षमा ललिता कुमारी साह, सचिवमा परिष कर्ण, सह–सचिवमा रामनारायण यादव र कोषाध्यक्षमा लोकेन्द्रप्रसाद यादव चयन भएका छन् ।
समितिको सदस्यहरूमा दीपेश जोशी, अशोक कुमार झा, कृष्णान्त देव, महेन्द्र सदा र गायत्री कुमारी सेठ चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय पार्षदमा श्रवणकुमार देव, विनय कुमार लाल कर्ण, मुरली प्रसाद यादव, ओम प्रकाश साह र अर्जुन प्रसाद साह चयन भएका छन् ।
यसैगरी प्रदेश पार्षदमा गणेश लाल देव, रमानन्द देव, निराज कुमार मण्डल, अरुण कुमार यादव, सन्तोष कुमार साह र प्रतिमा कुमारी चौधरी चयन भएका छन् ।
युनियनको विधान अनुसार प्रदेश समितिका पदाधिकारी सदस्य स्वतः प्रदेश पार्षद रहने व्यवस्था भएकाले नरेश कुमार चौधरी, पवन मिश्र र शैलेन्द्र सिंहलाई पनि प्रदेश पार्षदमा चयन भएको निर्वाचन समितिका संयोजक गणेशलाल देवले बताए ।
कार्यक्रममा निर्वाचन समिति संयोजक गणेशलाल, सदस्यहरु शम्भुलाल देव र नरेश कुमार चौधरीको समेत उपस्थिति थियो ।