न्यूज टुडे
राजविराज,१३ भदौ ।
सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता मावि सेहरा रौतहटको विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरिएको छ । शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै वडाध्यक्ष सुर्य कुमार दासले विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् ।
विद्यालयमा रिक्त रहेको प्लस टु तर्फ लेखा विषयको एक, अंग्रेजी विषयको एक तथा प्राविधिक धारतर्फ प्रशिक्षक एक, सहायक प्रशिक्षक एक र प्रशिक्षण सहायक एक पदमा करार नियुक्तिका लागि शनिबार बिहान ९ बजेदेखि छनोट परीक्षा सञ्चालन गर्ने विद्यालय प्रशासनले तयारी गरेपछि तालाबन्दी गरेको वडाध्यक्ष दासले बताए । उनले भर्ना छनोट प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाए ।
विद्यालयका प्रधानाध्यापक भोला यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा छनोट समितिका संयोजक नथुनी दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशिकुमार यादवको मिलेमतोमा अनियमितता भएको वडाध्यक्ष दासले बताए ।
यसअघि गत बुधबारका लागि तोकिएको परीक्षा पनि विवादपछि स्थगित गरिएको थियो। तर, शनिबार पुनः परीक्षा सञ्चालन गर्न खोजिएपछि आफूले विद्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष दासले बताए।
निष्पक्ष छलफल नभएसम्म विद्यालयमा लगाएको तालाबन्दी नखोल्ने वडाध्यक्ष दासको अडान छ ।
शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरी परिसरमै प्रधानाध्यापक भोला यादव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी दासले शिक्षा समन्वय अधिकारी शशिकुमार यादवसँग मिलेर शिक्षक भर्नाका लागि ‘सेटिङ’ गरिरहेको आरोप लगाउँदै वडाध्यक्ष दास मंगलबार साँझ ७ बजेदेखि राति साढे ९ बजेसम्म शिक्षा समन्वय तथा विकास कार्यालयको गेटमा धर्नामा बसेका थिए।
त्यसपछि प्रधानाध्यापक भोला यादवले मंगलबार राति नै सामाजिक सञ्जालमार्फत अर्को सूचना नआएसम्म परीक्षा स्थगित गरिएको जानकारी सार्वजनिक गरेका थिए। तर, सोही राति पुनः अर्को सूचना जारी गर्दै शनिबारका लागि परीक्षा सञ्चालन गर्ने मिति तोकिएको वडाध्यक्ष दासको भनाइ छ ।