• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

रसुवामा आएको बाढी फैलिएका कारणले धादिंग, नुवाकोट, चितवन, गोरखा लगायतका जिल्ला समेत प्रभावित भएका छन् ।
भोटेकोसीबाट आएको बाढीले मच्चाएको बितण्डाका कारण धेरैको हताहती भयो । सरकारले घटनाको खबर आएलगत्तै उध्दारको कार्य थालनी गर्यो ।जोखिमयुक्त तल्लो तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नकालागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सरकारले निर्देशन जारी गर्यो । बाढी आएको सूचना पाएलगत्तै स्थानीय स्तरमा खटिएका सुरक्षा निकायले माईकिंग थाले । बाढीबाट थप प्रभावित हुन सक्ने नागरिकलाई सुरक्षित स्थानमा सर्नकालागि निरन्तर सूचना प्रवाहको काम थालियो । जोखिमयुक्त सडकमा यात्रा रोक्ने काम पनि गरियो । तथापि धेरै जनाले यस त्रासदीमा ज्यान गुमाएका छन् भने अर्बौंको नोक्सानी भएको छ । अहिले पनि सम्पर्कविहीन हुनेहरुको ठूलो संख्या रहेको छ । बेंपत्ताहरुका परिवारजन चिन्तामा डुबेका छन् । तसर्थ बाढीमा फँसेकाहरुको खोजी र उद्धारको काम नै यति बेलाको पहिलो आवश्यकता हो । सरकारले त यसकालागि आफ्नो स्तरबाट सक्रियताका साथ काम गरि नै रहेको छ । यसमा निजी स्तरबाट पनि सहयोग दिन सकियो भने काममा अझै सहजता आउने र खोजी कार्य थप उपलब्धिमूलक बन्न सक्दछ ।
त्यसैले यति बेला मानवीय भावनाका साथ जुट्ने आवश्यकता छ । यसमा सरकार मात्र नभई सबै प्रतिपक्षी दल,नागरिक समाज, सामाजिक संघसंस्था लगायत सबै पक्षबाट सहयोग अपेक्षित छ । विपत्तिको यस घडीमा कसैको जीवन रक्षाको पवित्र कर्ममा सहभागिता जनाउनु पूनित कार्य मानिने छ ।