रसुवामा बुधबार विहान आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीमा परेर कतिपय सुरक्षाकर्मी तथा कर्मचारी समेत सम्पर्कविहीन बनेका छन् । बस्ती नै सखाप पार्ने गरी एक्कासी आएको बाढीले गरेको क्षतिको पूर्ण बिवरण अहिलेसम्म पनि आईसकेको छैन । तथापि विभिन्न बस्ती नै बाढीमा बगेका कारण क्षति ठूलो भएको छ भन्ने कुराको अनुमान चाहिँ लगाउन सकिन्छ ।
रसुवाबाट पसेको बाढीले धादिंग, नुवाकोट,चितवन,गोरखा लगायतका जिल्ला समेत प्रभावित हुन पुगेका छन् । विपत्तिको यस्तो समयमा विशेषतः उध्दार कार्यलाई नै प्राथमिकतामा राखेर काम गर्न आवश्यक भएका कारण सबै पक्षले जुटेर यो विपत्तिबाट पार पाउनेतर्फ प्रयास गर्न आवश्यक छ । समयमा देखाईएको सक्रियताबाट कसैको जीवन बँचाउने,क्षति कम गर्ने जस्ता कार्यमा मद्दत पुग्न सक्दछ । सरकारले आफ्ना निकाय परिचालन गरेर उध्दार कार्यमा लागिसकेको छ । तर यस्तो अवस्थामा सरकारी संयन्त्र मात्र होईन सबै तिरबाट सक्रियता बढाउनु पर्ने आवश्यकता छ ।
तसर्थ सरकार,राजनीतिक दल,सामाजिक संघसंस्थादेखि व्यक्तिगत स्तरबाट पनि राहतकालागि जुट्नु पर्ने पहिलो आवश्यकता हो । विपत्तिको यस्तो समयमा मानवीय भावनाका साथ काम गर्न सकियो भने कसैको जीवनको रक्षा हुन सक्दछ । बाढीका कारण कतिपय स्थानमा अहिले पनि मानिस फँसिरहेको समाचार आएका कारण त्यस्ता ठाउँमा पुगेर उनीहरुलाई बँचाउनु एक पूण्य कार्य पनि हुनेछ । विपत्तिमा परेकाहरुलाई जोगाउने यस पवित्र कार्यमा सबैको साथ सहयोग अपेक्षित छ ।