• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रसुवाको बाढीमा काँचनका एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन : परिवारजन चिन्तित

रसुवाको बाढीमा काँचनका एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन : परिवारजन चिन्तित
न्यूज टुडे
राजविराज,१० भदौ । 
रसुवामा बुधबार बिहान आएको बाढीमा सप्तरीको बोदेबरसाइन नगरपालिका–८ काचनटोलका एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन्। स्थानीय ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादव सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत रहेको बुवा लालबहादुर यादवले बताए । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत रहेको उनले जानकारी दिए । 
 “बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन’ लालबाहादुरले भने, ‘बाढीपछि धेरैपटक फोन गर्दा सम्पर्क भएको छैन ।’ 
उनीहरूको अवस्था अज्ञात रहेको भन्दै यादवले सम्बन्धित निकायसँग तत्काल खोज तथा उद्धार गरिदिन आग्रह गरेका छन्।
एकै परिवारका तीन जना सम्पर्कविहीन भएपछि परिवारसहित काचनटोलमा समेत चिन्ता बढेको छ। परिवारले उनीहरूको सकुशल उद्धारका लागि तत्काल खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरेको छ।