,न्यूज टुडे
राजविराज,०९ भदौ ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर – २ मा अवस्थित खुजश आधारभूत विद्यालय कमलपुरको विवाद गाउँपालिका पुगेको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितीको आन्तरिक विवाद गाउँपालिका पुग्दा शिक्षा शाखामा तालाबन्दी हुँदा शिक्षा सम्बन्धि सम्पूर्ण कामकाज प्रभावित भएको हो ।
प्रधानाध्यापक रविन्द्र यादवको जनता माध्यमिक विद्यालय राजगढ ३ नर्घो सरुवाको विषयलाई लिएर वडा नम्बर २ का वडाध्यक्ष जितेन्द्र कुमार यादव नेतृत्वमा पुगेका केही विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गाउँपालिकाको शिक्षा शाखा कार्यालयमा तालाबन्दी गरेपछि दुइपक्ष वीचको विवाद सार्वजनिक भएको हो ।
दुईपक्ष वीचको विवाद सतहमा पुगेपछि वडाध्यक्ष यादवसहितकाले गाउँपालिकामा दवाव सिर्जना गरि प्रधानाध्यापक यादवलाई शंकर मावि सरुवा गर्ने निर्णय गरिएको थियो । प्रधानाध्यापक यादवले आफ्नो अपमान हुने गरि शिक्षा नियमावली विपरीत सरुवाको निर्णय विरुद्ध २०८३ भदौ ८ गते प्रशासन अदालत सिंहदरबारमा निवेदन दिएका थिए । निवेदनमाथि सुनुवाइ गर्दै प्रशासन अदालतले २०८३ भदौ १४ गते विपक्षी गाउँपालिका कार्यालय र शिक्षा शखाको नाउँमा निर्णय कार्यान्वयन नगर्न भनी अन्तरकालीन आदेश गरेको छ ।
प्रशासन अदालतको आदेशपछि आक्रोशित वडाध्यक्ष यादवसहितका ५- ६ जनाको समुहले २०८३ भदौ ४ गते राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रधानाध्यापक यादवको रमना,खाजा, छात्रवृत्ति, पोशाकमा भएको अपारदर्शीतालगायत विद्यालयको शैक्षिक सुधारको विषयमा विगत चारबर्षदेखि गाउँपालिका शिक्षा शाखामा निवेदन गर्दा सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको वडाध्यक्ष यादवले बताए ।
विद्यालयको समग्र विषयमाथि शिक्षा शाखा प्रमुखको भुकिका सकारात्मक नदेखिएको तथा जवाफदेही नभएको,आफ्नो दायित्व र कर्तव्य निर्वाहबाट पन्छिन्ने गरेको उनले आरोप लगाए ।
अन्तरकालीन आदेश विषयलाई लिएर आक्रोशमा आएर तालाबन्दी गरेको हो’ भनी गरिएको प्रश्नमा उनले अदालतको आदेशको हामी सम्मान गर्छौ, त्यो होईन,रमना पत्र नबुझाएको र शिक्षा शाखामा गरेको निवेदनको माग सम्बोधन नभएपछि तालाबन्दी गरेको प्रतिक्रिया दिए ।
विवाद थप पेचिलो बन्दै गएपछि हप्ता दिनदेखि शिक्षा शाखामा लगाएको ताला कायम रहेको छ । तालाबन्दीको कारण शिक्षा शाखाबाट प्रवाह हुने सम्पूर्ण कामकाज ठप्प भएको छ ।
शिक्षा शाखा प्रमुख रामभगत मण्डलले प्रशासन अदालतको आदेश विपरीत सरुवा निर्णय कार्यान्वयन गर्न दिएको दवाव नमानेपछि वडाध्यक्ष यादवको उपस्तिथिमै शिक्षा शाखामा तालाबन्दी भएको बताए । उनले दुबै पक्ष वीच छलफल राखी सहमतिको प्रयास गरिरहेकोले विवाद टुंगो लाग्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झाले आफू काम विशेषले काठमाडौ आएको समयमा शिक्षा शाखामा तालाबन्दी भएको जानकारी प्राप्त भएको बताउँदै आफू केही दिन यतै व्यस्त भएकोले मंगलबार दुबैपक्ष वीच छलफल जारी रहेकोले त्यसपछि निष्कर्षमा पुग्ने बताए ।