नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले बर्तमान सरकार पत्रकारहरुको प्रश्नबाट डराएर भाग्ने गरेको आरोप लगाएका छन् । सप्तरीको राजविराजमा शनिबार आयोजित नेपाल प्रेस युनियन सप्तरीको आठौं अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासचिव पौडेल । फोटो : न्यूज टुडे
अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार संचार क्षेत्र र संचारकर्मीप्रति पूर्वाग्राही रहेको टिप्पणी गरे । उनले सरकार संचार क्षेत्र र संचारकर्मी प्रति अनुदार हुँदा नेपाली पत्रकारिता संकटमा परेको उल्लेख गरे ।
‘सरकारको पछिल्लो गतिविधि नेपालको संविधान र संबैधानिक व्यवस्था विपरीत छ , यो प्रेस स्वतन्त्रता विपरीतको डरलाग्दो संकेत हो, उनले भने, ‘लोकतान्त्रिक सरकारले जनसवालहरुलाई मिडियाको उपयोग गरि आफ्ना धारणा सार्वजनिक गर्नुपर्ने हो, तर सरकार जनता प्रति रत्तिभर पनि जबाफदेही र उत्तरदायी छैन, सरकार पत्रकारको प्रश्नसंग डराइरेका छन् ।’
उनले प्रधानमन्त्री शाहले मिडियालाई संकुचित गरि सामाजिक संजालबाट आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नु संचार क्षेत्र र संचारकर्मीप्रति अनुदार रहेको भन्ने स्पष्ट भएको तर्क गरे ।
उनले नेपालको पत्रकारिता कठिन मोडमा पुगेको भन्दै चिन्ता समेत व्यक्त गरे । महासचिव पौडेलले सरकारको पत्रकारिता प्रतिको बिभेदकारी नीति विरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
महासचिवलाई मायाको चिनो प्रदान गर्दै अध्यक्ष कर्ण । फोटो : न्यूज टुडे
उनले ‘प्रविधिको विकाससंगै संचारकर्मी समेत परिबर्तन हुनुपर्नेमा जोड दिए ।
‘सामाजिक संजालका सबै सामाग्री समाचार होइनन् तर आम नागरिकले त्यसलाई समाचारको रुपमा बुझेका छन्’ उनले भने,’ समयसंगै आफुलाई परिबर्तित गर्नु जरुरी छ, श्रोता दर्शक र पाठकले खोजे जस्तो समाचार सम्प्रेषण गर्नु अपरिहार्य रहेको छ ।’
आमसंचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष जितेन्द्र खड्गाले संचार क्षेत्र र संचारकार्मी विरुद्ध आक्रमण हुँदा संघर्षका मोर्चाहरु कम्जोर हुनु दुःखद् विषय भएको बताए । उनले पत्रकार विरोधी नीति विरुद्ध सबै संचार आबद्ध संघसंस्थाको भुमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
मायाको चिनो ग्रहण गर्दै प्रेस युनियनका प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ । फोटो : न्यूज टुडे
अध्यक्ष खड्गाले निजी संचारमाध्यममा विज्ञापनमा लगाएको प्रतिबन्ध, लोकल्याणकारी विज्ञापानमा लगाइएको रोक र सार्वजनिक खरिदका सामाग्री संचार माध्यममा छाप्नु नपर्ने संघीय सरकारको निर्णय र मधेस सरकारले पत्रकार विरोधी ल्याएको संचार विधेयक पत्रकार विरोधी भएको जिकिर गरे ।
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले देशको सबैखाले परिबर्तनको आन्दोलनमा पत्रकारहरुको अविस्मरणीय योगदान रहेको चर्चा गर्दै निर्भीकताको साथ अगाडि बढ्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले शाही शासनको झल्को दिने गरि पत्रकारमाथि धरपकड र संचार संस्थामा छापामारी गरी संचार उपकरण जफत गरेर सरकारले तानाशाही व्यवहार प्रदर्शन गरेको टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले सरकारले पत्रकारहरुमाथि राखेको बक्रदृष्टि सहनीय नभएको बताए ।
राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले बर्तमान सरकारले संचारकर्मी प्रति देखाएको व्यवहार बदनियतपूर्ण अभिव्यक्ति भएको जिकिर गरे ।
नेपाल शिक्षक संघ मधेस प्रदेशका अध्यक्ष पर्शुराम यादवले सरकारले गरेको ट्रेड युनियन खारेजको निर्णयको विरोध गरे ।
‘संगठनले अधिकार स्थापित गर्ने महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ, उनले भने,’सरकारको ट्रेड युनियन खरेज गर्ने नीति लोकतान्त्र विरोधी छ।’
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्णको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, प्रेस काउन्सिलका पूर्व सदस्य मुरली प्रसाद यादव, नेपाल प्रेस युनियनका केन्द्रीय सचिब अजित तिवारी,केन्द्रीय सदस्य सुधा देव,गणेश रिजाल,मिथिलेश यादव, मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, उपाध्यक्ष धिरेन्द्र प्रसाद साह, सचिव मनोज कुमार माझी, प्रेस युनियनका केन्द्रिय पार्षद अर्जुन साहले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी प्रेस युनियन सप्तरीका पूर्व अध्यक्ष ओमप्रकाश साह, प्रेस चौधरी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई, प्रेस मञ्च सप्तरीका अध्यक्ष धर्मपाल राउत, प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु कुमार यादव, नेपाली काँग्रेस सप्तरीका सचिब सनत कुमार मण्डल,नेपाल ट्रेड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डल,नेपाल विद्यार्थी संघ सप्तरीका अध्यक्ष राकेश कुमार ठाकुरले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल प्रेस युनियन सप्तरीका सचिब रमानन्द देवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष नवीन कुमार गुप्ताले गरे ।
अधिबेशनको बन्दसत्रले आगामी तीन बर्षेकार्यकालका लागि नयाँ नेतृत्व चयन तथा भावी नीति तथा कार्यक्रम ल्याउने निर्वाचन समिति संयोजक गणेशलाल देवले जानकारी दिए ।