न्यूज टुडे
राजविराज,०५ भदौ ।
सप्तरीमा जापानिज इन्सेफ्लाइटिस संक्रमणको प्रकोप देखिएको छ । संक्रमणबाट दुई जनाको मृत्यु भएपछि रोगको प्रकोप सार्वजनिक भएको हो ।
जापानिज इन्सेफ्लाइटिसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालयको अनुसार यादवको २०८३ साउन २१ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो भने रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।
थप तीन जनामा समेत जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
उनीहरू उपचारपछि स्वास्थ्यमा सुधार आएपछि घर फर्किसकेको बताइएको छ ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग भएकाले संक्रमण देखिएका क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ।
रोगको प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले आवश्यक तयारी गरिएको भएपनि सबैलाई सतर्कता अपाउन आग्रह गरिएको छ ।