डिभिजन वन कार्यालय सप्तरीका डिभिजन वन अधिकृत सुभाषचन्द्र दासले बृक्षरोपण गर्न सहज भएपनि यसलाई हुर्काउन चुनौतीपूर्ण भएको बताएका छन् । हरित दृष्टि संस्था ( भिजिओ) नेपालद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित वनदेवी सामुदायिक वन क्षेत्रमा बुधबार आयोजित बृक्षरोपण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
बृक्षरोपणमा सहभागीहरु । फोटो : न्यूज टुडे
वनदेवी वन उपभोक्ता समिति अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ भुर्कीका अध्यक्ष रामपुजन कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन अधिकृत दासले विरुवा रोपेर बृक्षरोपण अभियानको उद्घाटन गरे ।
बृक्षरोपण कार्यक्रम उद्घाटन गर्दै डिभिजन वन अधिकृत दासले बृक्षरोपणले वन क्षेत्रको संरक्षण र पर्यावरण सुरक्षामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
बृक्षरोपण कार्यक्रम संचालन गरेकोमा सामुदायिक वन उपभोक्ता समिति र आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै उनले बृक्षरोपण गर्न सहज भएपनि विरुवा हुर्काउन चुनौतीपूर्ण रहेकोले यसमा सबैपक्षको सहयोग अपरिहार्य रहेको बताए ।
उनले बृक्षरोपण कार्यक्रमको प्रशंसा गर्दै यसको पूर्ण सफलताका लागि वन कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि विभिन्न वन क्षेत्रमा बृक्षरोपण गरिएतापनि अपेक्षित सफलता हाँसिल हुन नसकेको स्मरण गर्दै उनले बन संरक्षणमा अबरोध सिर्जना गर्ने उपर कडा कारबाही गर्न निर्देशन दिए ।
‘सप्तरीमा कुल १ सय ३७ सामुदायिक वन छ, त्यस मध्ये ६३ वटा मात्र सक्रिय छन्’ उनले भने,बाँकी सामुदायिक वन उपभोक्ता समिति निष्क्रिय अबस्थामा नै छ’ हामी सबै उपभोक्ता समितिलाई क्रियाशील बनाउन विभिन्न कार्यक्रम मार्फत जोड गरिरहेका छौ ।’
उनले बृक्षरोपण कार्यक्रम सफलताको लागि स्थानीयको सहयोग अति महत्त्वपूर्ण हुने भन्दै सहयोगका लागि स्थानीय उपभोक्ताहरुलाई आग्रह गरे । साउनको पहिलो हप्ता भित्र बृक्षरोपण गर्दा समयानुकूल हुने तथा समय ढिलो भएको भन्दै उनले अहिले बृक्षरोपण गर्दा बढी विरुवा मर्ने जोखिम उच्च हुने बताए ।
बृक्षरोपण कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत दास । फोटो : न्यूज टुडे
मधेस प्रदेश प्रहरी अस्पताल रुपनीका प्रमुख डिएसपी डा. दिपक भिन्दावारले जलवायु परिवर्तनको असर अत्याधिक बढ्दो अबस्थामा बृक्षरोपण कार्यक्रमले यसको प्रभाव न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बाताबरणलाई स्वस्थ र पर्यावरण संरक्षणका क्षेत्रमा अस्पतालले समेत यस्ता कार्यक्रम गर्दै आएको बताउँदै उनले कार्यक्रममा आमन्त्रण गरेकोमा खुशी व्यक्त गरे ।
सव डिभिजन वन कार्यालय सितापुरका प्रमुख सव डिभिजन वन अधिकृत सत्यनारायण यादवले वन क्षेत्र संरक्षणमा स्थानीयले असहयोग गरेको गूनासो गरे । उनले बन संरक्षणमा सबैभन्दा पहिले स्थानीयबासीको साथ सहयोगमा जोड दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प सितापुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पिटर श्रेष्ठ, सव डिभिजन वन कार्यालय महुलीका प्रमुख सव डिभिजन अधिकृत चिरञ्जीवी खनाल, पत्रकार बृजमान तामाङ, वन उपभोक्ता समितिका पदाधिकारी, स्थानीय उपभोक्ताहरुहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन हरित दृष्टि संस्था नेपालका कार्यकारी निर्देशक नवीन भट्टराईले गरेका थिए ।
हरित दृष्टि संस्था नेपालले बन देवी बन क्षेत्र भित्र पर्ने ६० हेक्टर क्षेत्रफलमा ६० हजार बिरुवा रोप्ने अभियान रहेको जनाइएको छ ।