न्यूज टुडे
राजविराज,०२ भदौ ।
किर्ते किसान कार्ड बनाएर मलखाद्यमा अनियमितता गरेको सप्तरीको खडक नगरपालिका १ किसानहरुले आरोप लगाएका छन् । राजविराजमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै श्री मिशन कृषि फर्मका संचालक मनोज कुमार चौधरी र वडाअध्यक्ष राम कृष्ण चौधरीको मिलोमतोमा मलखाद्यमा अनियमितता गरेको स्थानीयले आरोप लगाएका हुन् ।।
मलखाद्यका डिलर श्री मिशन कृषि फर्मका संचालक र वडाअध्यक्षको मिलोमतोमा मलखाद्यको कालोबजारी भइरहेको किसानहरुले आरोप लगाए ।
किसानहरुका लागी आएको मलखाद्यमा कालोबजारी भईरहेको आरोप लगाउँदै उनीहरुले छानवीन गरी दोषीमाथी कारवाही माग गरे ।
मलको अभावमा खेतीपाती गर्न किसानले समस्या भोगिरहेका बेला डिलर र वडाअध्यक्ष मिलेर कालोबजारी गरीरहेको र वास्तविक किसानहरु मल नपाई रित्तो हात पर्कन बाध्य भएको उनीहरुको गुनासो गरे ।
विदेशमा रहेका श्याम मुखिया, राम मुखिया र रामशंकर यादव लगायतको नाममा किर्ते किसान कार्ड बनाएर मलखाद्य खरिद गरी आफ्ना नाता गोता र आसेपासेलाई बेच्ने गरेको पत्रकार सम्मेलनमा सहभागी किसानहरुले बताए ।
किसान कार्ड र डिलरबाट एक महिनाकोअवधीमा वितरण गरिएको मल खाद्य वितरणको विवरणको प्रतिलिपी सार्वजनिक गर्दै उनीहरुले शान्तिपूर्ण रुपमा माग सम्बोधन नभए सशक्त संघर्षका उत्रिने चेतावनी दिए ।