• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पत्रकार किशोर श्रेष्ठ रिहा
न्यूज टुडे
राजविराज,०१ भदौ ।
पत्रकार किशोर श्रेष्ठ रिहा  भएका छन् । सर्वोच्च अदालतले छोड्न आदेश दिएपछि सोमबार साँझ पत्रकार श्रेष्ठ रिहा भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वोय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार नै पत्रकार श्रेष्ठलाई रिहा  गर्न परमादेश जारी गरेको थियो । 
आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका श्रेष्ठलाई समाचार लेखेकै निहुँमा प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठको पक्राउको सर्वत्र विरोध भएको थियो । 
श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको इजलासमा सुनुवाइ भएकोमा बरामद भएका उपकरणसहित श्रेष्ठलाई सोमबार अदालत उपस्थित गराउने आदेश भएको थियो । 
श्रेष्ठको तर्फबाट आज १७ जना कानुन व्यवसायीले बहसमा भाग लिएका थिए । उजुरीकर्ता आफैंले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरबारे समाचार बनाउँदा कसरी वैयक्तिक गोपनीयता हनन भयो ? भनि उनीहरुले प्रश्न गरेका थिए । यता, न्यायाधीशले सरकारी वकिललाई पनि सोही प्रश्न सोधे । सुनुवाइपछि उनलाई छोड्ने आदेश दिइएको हो ।
 जनआस्था अनलाइनले अघिल्लो साताको सोमबार एक माननीय र युवतीले चुम्बन गरिरहेको तस्बिरसहित समाचार प्रकाशित गरेको थियो । सो तस्बिर युवतीकै फेसबुकबाट सार्वजनिक भएकोमा उनले वैयक्तिक गोपनीयता हननको जाहेरी दिएकी हुन् । 
साउन २७ गते राति प्रहरीले श्रेष्ठलाई ललितपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं प्रहरी परिसर लगिएका उनलाई साउन २९ गते प्रहरी वृत्त, महाराजगञ्ज सारिएको थियो। 
पत्रकार श्रेष्ठ प्रहरी वृत्त, महाराजगञ्जबाट छुटेपछि जनआस्थाको कार्यालय पुगेका थिए भने त्यसपछि उनी घर गएका छन् ।  उनलाई आफन्तजन र समर्थक तथा शुभचिन्तकहरुले प्रहरी वृत्त, महाराजगञ्ज पुगेर स्वागत गरेका थिए । 
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा नेपाल पत्रकार महासंघसहित पत्रकार आबद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन तथा बौद्धिक संघसंस्थाद्वारा विभिन्न संघर्षका  कार्यक्रम गर्दै आएका छन् ।