उत्तम आचार्य
कञ्चनरूप, ०१ भदौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज पुलमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक हनुमाननगर कंकालिनी नगरपालिका–१, भलवा निवासी अन्दाजी ३५ वर्षीय ओम साफीको मृत्यु भएको हो ।
तीब्र गतिमा रहेको को.६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ओमको मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ करिब ५ः२० बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक ओम साफी र पछाडि सवार हनुमाननगर कंकालिनी नगरपालिका–१ कै २० वर्षीय मंजय साफी घाइते भएका थिए।
दुवै घाइतेलाई उपचारका लागि भारदह अस्पताल लगिएकोमा चालक ओमको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार मंजयलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था सामान्य रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।