• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

घर-घरमा नागको चित्र टाँसी नाग पञ्चमी पर्व मनाइँदै

घर-घरमा नागको चित्र टाँसी नाग पञ्चमी पर्व मनाइँदै
घर-घरमा नागको चित्र टाँसी नाग पञ्चमी पर्व मनाइँदै
उत्तम आचार्य 
कन्चनरुप , ०१ भदौ  ।
सनातन हिन्दु धर्मावलम्बीहरूको परम्परागत धार्मिक पर्व नाग पञ्चमी सोमबार मुलुकभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन नागलाई देवताको रूपमा पूजा-आराधना गर्ने परम्परा अनुसार आज बिहानैदेखि घर-घरमा विधिपूर्वक नागको पूजा गरि नाग पञ्चमी हो ।
आजको दिन घरको मूल ढोकामाथि अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागको चित्र गाईको गोबरले टाँसेर दुबो, अक्षता, दूध र दही अर्पण गरी पूजा गर्ने प्रचलन छ । यसरी घरको ढोकामा नागको तस्वीर टाँस्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ, अग्निभय एवं अन्य प्राकृतिक प्रकोपबाट रक्षा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नाग पञ्चमीको अवसरमा काठमाडौँको नक्सालस्थित नागपोखरी, ललितपुरको धापाखेलस्थित नागदह, भक्तपुरको सिद्धपोखरी, काठमाडौँकै टौदह तथा मुलुकका विभिन्न भागमा रहेका नाग मन्दिर र जलकुण्डहरूमा आज बिहानैदेखि भक्तजनहरूको ठूलो घुइँचो लागेको छ । ती स्थानहरूमा पुगेर भक्तजनहरूले दूध, लावा र फूल चढाएर नागदेवताको पूजाआजा गरिरहेका छन् ।
धार्मिक र वैज्ञानिक महत्त्व
धार्मिक रूपमा नागलाई भगवान् विष्णुको शय्या (शेषनाग) र शिवको गभूषणको रूपमा पूजनीय मानिन्छ । ज्योतिष शास्त्र अनुसार यस दिन नागको पूजा गर्नाले कुण्डलीमा रहेको कालसर्प वा नाग दोष हट्ने र जीवनमा सुख-समृद्धि मिल्ने जनविश्वास छ ।
यस पर्वको वैज्ञानिक महत्त्व पनि उत्तिकै रहेको संस्कृतिविद्हरूको भनाइ छ । वर्षा ऋतुमा प्वालहरू पानीले भरिएर बाहिर निस्कने सर्पहरूले खेतबारीका शत्रु मानिने मुसा र कीराफट्याङ्ग्राहरू खाएर अन्नबालीको रक्षा गर्छन् । प्रकृति र मानव जीवनबीचको सन्तुलन कायम राख्न सर्पको ठूलो भूमिका रहने भएकाले यो पर्वले पर्यावरण संरक्षणको सन्देश समेत दिने गर्दछ ।
आजको दिन भूमिमा हलो जोत्ने, जग खन्ने वा जमीन खन्ने जस्ता कार्यहरू पूर्ण रूपमा वर्जित गरिन्छ । यसो गर्दा जमीनमुनि रहेका नाग वा सर्पहरू काटिने वा मर्न सक्ने र नाग हत्याको पाप लाग्ने विश्वास रहिआएको छ ।