• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरुपमा तीजको स्वागतमा लोपोन्मुख संगिनी नृत्य

कञ्चनरुपमा तीजको स्वागतमा लोपोन्मुख संगिनी नृत्य
उत्तम आचार्य 
कञ्चनरुप  , ३० साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ७, आदर्श टोल (बन्द्राहा) का महिलाहरूले सामूहिक रूपमा हरितालिका तीज पर्व भव्य रूपमा मनाएका छन्। स्थानीय विष्णु पाञ्चायन मन्दिरको प्राङ्गणमा शनिबार  आयोजित एक कार्यक्रमको वीच उनीहरूले तीज मनाएका हुन् । 
उक्त अवसरमा परम्परागत रूपमा तीज गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा सहभागी महिलाहरूले दर खाने, तीजका मौलिक गीतहरू गाउने तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेर रमाइलो गरेका थिए। 
स्थानीय गोमा कोइरालाले तीजको अवसरमा महिलाहरू एकजुट भई दरखाने, परम्परागत संगिनी खेल्ने तथा तीजका गीतमा नृत्य प्रस्तुत गर्दै आपसी खुसी साटासाट गरेको बताइन् । 
पछिल्लो समय मौलिक संस्कृति हराउँदै गइरहेका बेला कार्यक्रममा प्रस्तुत गरिएको संगिनी नृत्यले पुराना दिनहरूको सम्झना गराएको स्थानीय उषा पोखरेलले बताइन् । लोप हुन लागेको यस्तो रैथाने नृत्य र संस्कृतिलाई जीवन्त राख्न यो कार्यक्रमले सहयोग पुर्‍याएको उनको भनाइ थियो।
यसैगरी, कार्यक्रममा सहभागी सबिता न्यौपाने र शिवमाया अधिकारी लगायतका महिलाहरूले यस प्रकारका सामूहिक सांस्कृतिक कार्यक्रम आयोजनले समाजमा आपसी भाइचारा र सद्भाव बढाउने धारणा राखिन । 
सामूहिक रूपमा तीज मनाउँदा सामाजिक सद्भाव कायम हुनुका साथै आपसी सम्बन्ध अझ प्रगाढ र बलियो भएर जाने विश्वास उनीहरूको  कथन रहेको छ। मन्दिर प्राङ्गणमा दिनभर चलेको उक्त कार्यक्रममा आदर्श टोलका उल्लेख्य संख्यामा महिलाहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ ( क) बाट निर्वाचन प्रदेशसभा सदस्य एवम् मधेस प्रदेशका पूर्वमन्त्री राजकुमार लेखी र कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख वसन्त कुमार मिश्रलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो  ।