• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सकारात्मक कार्यमा सबैको साथ सहयोग हुनुपर्छ : प्रजिअ थापा

सकारात्मक कार्यमा सबैको साथ सहयोग हुनुपर्छ : प्रजिअ थापा
न्यूज टुडे
राजविराज,२८ साउन । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हरित क्षेत्र घोघिदाहा भवानीपुरद्वारा संचालित अभियानले पर्यावरण तथा नागरिक सुरक्षामा सहयोग पुग्ने बताउँदै यस्ता सकारात्मक कार्यमा सबैको सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।  हरित क्षेत्र घोघिदाहा भवानीपुरद्वारा सप्तरीको घोघिदाहामा बिहिवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो जोड दिएका हुन् । 
कार्यक्रममा बोल्दै प्रजिअ थापाले कुनैपनि पूर्वाधार निर्माणको कार्य गर्दा नागरिकको सुरक्षा र सहजतालाई ख्याल गर्दा थप प्रभावकारी तथा दिगो हुने बताए । हरित क्षेत्र घोघिदाहा भवानीपुरले वन क्षेत्रको संरक्षण, सडक सुरक्षा, जलवायु परिबर्तनको जोखिम न्यूनीकरण तथा सामाजिक विकासको क्षेत्रमा काम गरेको प्रति प्रशंसा व्यक्त गर्दै प्रजिअ थापाले सकारात्मक कार्यमा सबै क्षेत्रको साथ सहयोग अपरिहार्य हुने बताए । 
लामो समय सरकारी सेवामा समर्पित भई बटुलेका अनुभवलाई सामाजिक विकास तथा राष्ट्र निर्माणमा उपयोग गर्न गरिएको प्रयास उदाहरणीय रहेको बताउँदै उनले  समाज परिबर्तनमा निस्वार्थ भावले योगदान गर्न सोच भएकाहरुको मनोबल उच्च राख्न पर्नेमा जोड दिदै अभियान संचालनमा अबरोध सिर्जना गर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । 
अन्तरक्रिया कार्यक्रममा सहभागीहरु। फोटो : न्यूज टुडे
अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ का वडाध्यक्ष सबजुल खलिफाले चरचरण नियन्त्रण तथा नदीनालामा माछा मार्न विषादी प्रयोग कार्यलाई व्यवस्थित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
सभापतित्वको आषणबाट बोल्दै हरित क्षेत्र घोघिदाहा भवानीपुरका अध्यक्ष दुर्गा प्रसाद चौधरीले जलवायु जोखिम न्यूनीकरण, जैविक विविधताको सुरक्षा, पर्यावरण संरक्षणका लागि हरित क्षेत्र अभियानको उदेश्य रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, सरसफाइ, सामाजिक विकृति न्यूनीकरण, नागरिक सुरक्षामा समेत संस्थाले काम गर्ने बताउँदै सरोकारवाला सबैको साथ सहयोग पाउने विश्वास व्यक्त गरे । 
राष्ट्रिय राजमार्ग तथा सामुदायिक वनहरुमा चौपाया चरिचरण नियन्त्रण एवम् नदीनालामा माछा मार्न विषादी प्रयोग नियन्त्रणका साथै बधुवा पशु पालन व्यवस्थापन गर्ने सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कमला – कंचनपुर सडक परियोजनाका प्रमुख निरज शाक्य, डिभिजन वन कार्यालय सप्तरीको डिभिजन वन अधिकृत सुभाष चन्द्र दास, पत्रकार बृजमान तामाङ, लालभित्ती समुदाय वन उपभोक्ता समितिका अध्यक्ष शम्भु प्रसाद चौधरी,नारायण चौधरी, पूर्व प्रधानाध्यापक बासुदेव चौधरीले हरित क्षेत्र अभियानको सफलताका लागि आ-आफ्नो सुझाव व्यक्त गरे । 
हरित क्षेत्र घोघिदाहा भवानीपुरका सचिब तारणी प्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष धर्म नारायण ठाकुरले स्वागत तथा सहजीकरण गरे । 
हरित क्षेत्र घोघिदाहा भवानीपुरका अध्यक्ष दुर्गा प्रसाद  चौधरीको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपक खड्का, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उप निर्देशक कुलचन्द्र नेपाल, सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प सितापुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पिटर श्रेष्ठ लगायतका, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवीहरुको सहभागिता थियो ।