न्यूज टुडे
राजविराज, २७ साउन ।
सप्तरीमा१४ बर्षीया किशोरीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–१ महनौरी टोलका २० वर्षीय गोबिन्दा भन्ने गजेन्द्र नारायण यादव पक्राउ परेका हुन् ।
बोदेबर्साइनमा बिहेको डिजेबाजा बजिरहेको ट्याक्टरमा नाचिरहेकी १४ वर्षीया किशोरीलाई धकेलेपछि जेनेरेटरमा टाउको ठोक्किएर मृत्यु भएको घटनामा फरार यादवलाई मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त घटनामा गम्भीर घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु भएको थियो।
किशोरीको हत्या आरोप लागेपछि फरार यादवलाई खोजतलासको क्रममा सोही वडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । घटनापछि फरार रहेका यादवविरुद्ध सुरजकुमार पालको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले बताएका छन् ।
घटना २०८२ मंसिर ११ गते राति करिब ११ बजे भएको थियो। जाहेरीअनुसार करिब १४ वर्षीया खुश्बु पाल बिहेको डिजेबाजामा ट्याक्टरमा नाचिरहेकी थिइन्। सोही क्रममा मादक पदार्थ सेवन गरेका यादव पनि ट्याक्टरमा चढेका थिए।
खुश्बुलाई जिस्काउने क्रममा यादवले ट्याक्टरभित्रै उनलाई धकेलेको प्रहरीको विवरणमा उल्लेख छ। धकेलिँदा किशोरीको टाउको ट्याक्टरमा चलिरहेको जेनेरेटरमा ठोक्किएको थियो। टाउको ठोक्किएपछि उनको कपाल जेनेरेटरमा बेरिएको र गम्भीर चोट लागेर रक्ताम्य अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
घाइते खुश्बुलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पताल हुँदै काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको थियो।
उपचारका क्रममा स्वास्थ्य अवस्थामा केही सुधार आएपछि चिकित्सकले २०८२ पुस ४ गते उनलाई डिस्चार्ज गरेका थिए। परिवारले घरतर्फ ल्याउँदै गर्दा उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि लहानस्थित प्रादेशिक अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार पुस ५ गते बिहान करिब साढे १ बजे उपचारकै क्रममा खुश्बुको मृत्यु भएको हो। घटनापछि यादव फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको थियो। लामो समयपछि साउन २६ गते बोदेबर्साइन नगरपालिका–१ मै फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालत राजविराजबाट तीन दिनको म्याद थप गरि ज्यानसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अगाडी बढाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए ।