जिल्ला प्रहरी कार्यालय सप्तरीले हालै सार्वजनिक गरेको एक महिने प्रतिवेदनमा लागु औषध नियन्त्रणमा उत्कृष्ट सफलता हासिल गरेको उल्लेख छ ।
यस अवधिमा प्रहरीले ३८ क्विन्टल ७४ केजी ९सय ९० ग्राम गाँजा, १३ ग्रामभन्दा बढी ब्राउन सुगर सहित पाँच जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाईएको प्रतिबेदनमा उल्लेख छ । हुनत प्रहरीले गरेका अन्य काम र पाएको सफलताका बारेमा पनि प्रतिवेदनले समेट्ने काम गरेको छ । तथापि एक महिनाको अवधिमा प्रहरी ठूलो परिमाणमा लागु औषध नियन्त्रणमा लिन सफल भएको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्दछ । लागु औषधको कारोबारमाथि नियन्त्रण गर्ने, समाजमा शान्ति सुरक्षा कायम गर्नकालागि सबै प्रकारका अपराध नियन्त्रणको जिम्मेवारी प्रहरीकै भएका कारण चौबिसै घण्टा सुरक्षा सतर्कता राख्नै पर्ने हुन्छ । प्रतिवेदनमा उल्लेख भए अनुसार लागु औषधका क्षेत्रमा प्रहरीले पाएको सफलतालाई हेर्ने हो भने यसको कारोबारमा संलग्नलाई विगतमा पनि पक्रने काम भएकै हो । यस्तै यस अघि पनि ठूलो परिमाणमा लागु औषध नियन्त्रणमा लिईएकै थियो । यस पटक पनि सप्तरी प्रहरीले विगतको जस्तै सफलता यस विषयमा हात पारेको छ । तथापि बुझ्न के आवश्यक छ भने ठूलो परिमाणमा लागु औषधि नियन्त्रण गर्ने,त्यसमा संलग्नलाई पक्राउ गर्ने गरिएको भए पनि यसको कारोबार चाहिँ रोकिएको छैन । किनभने प्रहरी नियन्त्रणमा लिँदै जान्छन् तर फेरि पनि यस्तो अबैध धन्दामा संलग्नहरु पक्राउ परि नै रहेका छन् । लागु औषधको कारोबार जारी नै छ भन्ने कुरालाई थप लागु औषधको बरामदी तथा त्यसमा संलग्नको पक्राउले नै पुष्टी गरेको मान्न सकिन्छ ।
तसर्थ यसलाई पूर्ण रुपले नियन्त्रणमा लिनकालागि यो विषयलाई चुनौतिकै रुपमा आत्मसात गरी थप सक्रियता बढाउनु पर्ने आवश्यकता छ ।