सप्तरीमा पनि खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ ।
सुनसरीको देवानगञ्नमा घटेको घटना पछि विस्तारै अन्य जिल्लामा पनि आन्दोलन सुरु भएका समयमा ग्याँसको अभाव देखिन थालेकोमा आन्दोलनका कारण बातावरण असहज भएर ग्याँस आपूर्ति पनि प्रभावित भएको हुन सक्ने आँकलन गरिएको थियो । तर आन्दोलन रोकिएर सहज अवस्था बनेपछि पनि झनै अभाव देखिएका कारण उपभोक्ताले हैरानी खेप्नु परिरहेको छ । सरकारले साबिक भन्दा पनि बढी परिमाणमा ग्याँस आयात भईरहेको बताउँदा बजारमा बिक्रेताकहाँ जाँदा उपभोक्ताले ग्याँस नपाएर निराश भई फर्कनु परेको अवस्था छ । आपूर्ति रोकिएको छैन भने उपभोक्ताले सहज रुपमा ग्याँस नपाउनुको पछाडि चलखेल छ भन्ने अनुमान लगाउनुलाई अन्यथा भन्न मिल्दैन । सप्तरी प्रशासनले पनि ग्याँसको बिक्री बितरण सही ढंगबाट गर्नकालागि सूचना नै जारी गरिसकेको छ । ग्याँस बिक्रेताले आफन्तलाई लुकाएर ग्याँस बेच्ने गरेको भए पनि अन्य ग्राहकलाई रित्तै हात पठाउने गरेको गुनासो उठ्दै आएको कुरा समेतलाई मध्यनजर गरी प्रशासनले त्यसो नगर्न आग्रहका साथ गरेमा कारवाही गरिने चेतावनी समेत दिएको छ । यसै गरी ग्राहकलाई नदिएर ग्याँस भण्डारण गरी लुकाएर राख्ने,बढी मूल्यमा बेच्ने जस्ता कुरामा पनि जिल्ला प्रशासन कार्यालयले सूचना मार्फत रोक लगाएको छ ।
जनताले दुःख पाईरहेको अवस्थामा प्रशासनका तर्फबाट यस प्रकारको सूचना निकालेर ग्याँस आपूर्ति सहज तुल्याउनकालागि गरिएको प्रयास आफ्नो ठाउँमा सकारात्मक नै मानिएला । तर त्यतिले मात्रै सबै कुरा ठीकठाक भईहाल्छ भन्न चाहिँ सकिन्न । यसकालागि शूक्ष्म रुपले बजार अनुगमन तर्फ पनि ध्यान दिन आवश्यक छ ।