सप्तरीको राजगढ गाउँपालिका २ खु.ज.स आधारभूत विद्यालय कमलपुरका प्रधानाध्यापक रविन्द्र यादवलाई सरुवा नगर्न प्रशासकीय अदालत सिंहदरबार काठमाडौले अल्पकालीन आदेश जारी गरेको छ । प्रधानाध्यापक यादवले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै विपक्षी राजगढ गाउँपालिका र शिक्षा समितिको नाममा अदालतले अल्पकालीन आदेश जारी गरेको हो ।
प्रधानाध्यापक यादव कार्यरत विद्यालय । फोटो : न्यूज टुडे
प्रशासकीय अदालत सिंहदरवार काठमाडौ इजलासका अध्यक्ष डा. टेक बहादुर घिमिरे , सदस्य नवल किशोर यादव र आलोक चन्द्र श्रेष्ठको संयुक्त इजलासले विपक्षीहरुको नाममा अल्पकालीन आदेश जारी गरेको छ ।
छलफलको टुंगो नलागेसम्म रविन्द्र यादवलाई गाउँ शिक्षा समितिको निर्णय तथा सरुवा सम्बन्धि पत्र बमोजिम रमाना नदिनु,नदिलाउनु, यथास्थितिमा राख्नु भनी अल्पकालीन आदेश गरिएको छ ।
मुलकी देवानी कार्याविधी संहिता २०७४ को दफा १५६ को उप दफा (२) बमोजिम अल्पकालीन आदेश जारी गरिएको आदेशमा उल्लेख छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनु भनी आदेश समेत गरिएको छ ।
शिक्षा समितिको २०८३ असार २५ गतेको निर्णय अनुसार प्रअ यादवलाई राजगढ गाउँपालिका ३ स्थित जनता शंकर माध्यमिक विद्यालय नर्घो सरुवा गर्ने निर्णय गरेको थियो ।
प्रतिशोध साध्न अपमानित हुने गरी सरुवा गरेको भन्दै उक्त निर्णय बदरको माग राखी प्रअ यादवले प्रशासकीय अदालत सिंहदरबारमा २०८३ साउन ८ गते रिट दायर गरेका थिए ।