न्यूज टुडे
राजविराज, २६ साउन ।
सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । श्रीमती ५२ वर्षीया फुलकुमारी सदाको हत्या आरोपमा उनका आफ्नै ५६ वर्षीय श्रीमान् कोसिया सदा पक्राउ परेका हुन् ।
श्रीमतीमाथि कुटपिट गरेको आरोपमा सदालाई साउन २० गते प्रहरीले नियन्त्रणमा लिई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाएको थियो। इँटाले टाउकोमा प्रहार गरी गम्भीर घाइते भएकी फुल कुमारीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उपचारका क्रममा श्रीमतीको मृत्यु भएपछि उनिविरुद्धको मुद्दा कर्तव्य ज्यानमा परिणत भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कोसियाले साउन २० गते साँझ करिब ६ बजे मादक पदार्थ सेवन गरी फुलकुमारीलाई कुटपिट गर्नुका साथै इँटाले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी फुलकुमारीको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले यसअघि चलिरहेको अभद्र व्यवहारसम्बन्धी मुद्दालाई कर्तव्य ज्यानमा परिणत गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी नायब निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते फुलकुमारीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान, सिराहा पठाएको थियो।
घटनापछि कोसियालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै सप्तरी जिल्ला अदालतबाट साउन २० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद लिएको थियो।
तर उपचाररत फुलकुमारीको साउन २४ गते बिहान करिब साढे ३ बजे प्रादेशिक अस्पताल लहानमा मृत्यु भयो। त्यसपछि मृतककी छोरी लिला सदाले दिएको जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मुद्दा कर्तव्य ज्यानमा परिणत भएपछि प्रहरीले पुनः सप्तरी जिल्ला अदालतबाट साउन २४ गतेदेखि लागू हुने गरी १० दिनको म्याद लिएर कोसिया सदामाथि अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार प्रारम्भिक घटनामा श्रीमतीलाई कुटपिट गरी इँटाले टाउकोमा प्रहार गरेको आरोपमा पक्राउ परेका कोसियाविरुद्ध उपचारका क्रममा पीडितको मृत्यु भएपछि कानुनी कसुरको प्रकृति परिवर्तन गरिएको डिएसपी घिमिरेले बताए ।
पक्राउ परेका कोसिया विरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप गरी घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।