बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८३ बाट मानवाधिकारकर्मी राजु पासवान सम्मानित भएका छन् । बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषद्वारा ३४औं प्रकाश स्मृति दिवसको अवसरमा सप्तरीको राजविराजमा सोमबार आयोजित एक समारोहका वीच पासवानलाई ११ हजार पाँच रूपियाँ नगदसहित सम्मान–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
झालाई सम्मान पत्र प्रदान गर्दै उच्च अदालत जनकपुर- राजविराजका मुख्य न्यायाधीश पौडेल । फोटो : न्यूज टुडे
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषका संस्थापक एवम् अध्यक्ष वैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका सभामुख राम आशिष यादवले पासवानलाई नगद पुरस्कारसहित सम्मान–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरे ।
सप्तरीको शम्भुनाथ नगरपालिका-१ कचन्दाहाका ४८ वर्षीय पासवान ११ औं बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित भएका हुन् । मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पुर्याएकाले पासवानलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
पुरस्कार कोषका संस्थापक अध्यक्ष झालाई डायरी र दोसल्ला ओढाएर सम्मान गर्दै सभामुख यादव । फोटो :: न्यूज टुडे
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नगरपालिका–७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना भएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको पुरस्कार स्थापना गरेको हो ।
यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ ।
मन्तव्य व्यक्त गर्दै सभामुख यादव । फोटो : न्यूज टुडे
गरिबी, विभेद र अन्याय देख्दै, भोग्दै पीडितको पक्षमा स्थानीय समुदायलाई सचेत र संगठित पार्दै सामाजिक जीवन आरम्भ गरेका पासवान मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा साढे दुई दशकदेखि निरन्तर क्रियाशील र कटिबद्ध छन् ।
समुदायको सशक्तिकरण र जागरण, हिंसा पीडितको उद्धार र पुनर्स्थापना, पैरवी, मानव अधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील र सरल उनी कानूनमा स्नातक र आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहको उपाधि हासिल गरी एमफिलमा अध्ययनरत छन् । मानव अधिकार, विधिको शासन र प्रजातन्त्र प्रतिको आस्था र निष्ठा तथा अपहेलित समुदायको सम्मानित जीवनका लागि पासवान निरन्तर क्रियाशिल छन् ।
कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश पौडेल । फोटो : न्यूज टुडे
यसैगरी सातौं उर्मिलादेबी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार २०८३ बाट शीमला देवी झा सम्मानित भएकी छन् । दुई हजार ५ सय रुपियाँ नगद राशीसहित प्रमाणपत्र, दोसल्लाबाट झा सम्मानित भएकी हुन् ।
उनलाई कार्यक्रमका विशिष्ट अतिथि उच्च अदालत जनकपुर- राजविराजका मुख्य न्यायाधीश सुभाष पौडेलले नगदसहित प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे ।
सप्तरीको राजगढ गाउँपालिका नर्घो घर भई हाल राजविराज नगरपालिका ६ निवासी झा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा आफ्ना भाई बुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा प्रदान गर्दै मैथिली लोक गायन पुरस्कार प्रदानबाट सम्मानित भईन ।
लोक गायनको माध्यमबाट मैथिली भाषा, संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान गरेकोले मैथिली महिला परिषद्को सिफारिशमा झालाई पुरस्कार प्रदान गरिएको पुरस्कारका संस्थापक पत्रकार झाले बताए ।
झाको भाइ बुहारी उर्मिला देवी सात बर्ष अगाडि मधु श्रावणी पर्वको लागि सामान लिन भनी विराटनगर गएको बेला एम्बुलेन्सको ठक्करबाट निधन भएकी थिइन् । उनकै स्मृतिमा प्रत्येक बर्ष मधुश्रावणी पर्वको अवसरमा एक जनालाई सम्मान गर्दै आएको पुरस्कारका संस्थापक झाले बताए ।
नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख यादवले पुरस्कार वितरणले मानवअधिकार रक्षाका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे । पुरस्कार स्थापनाले मानव अधिकारकर्मीलाई उच्च मनोबलको साथ काम गर्ने उर्जा थपिने उल्लेख गर्दै उनले यसले मानव अधिकार उलंघनका घटना न्यूनीकरणका प्रेणा मिल्ने बताए ।
कार्यक्रममा उच्च अदालत जनकपुर – राजविराज इजलासका मुख्य न्यायाधीश पौडेल, निर्वाचन आयोगका पूर्व आयुक्त डा. अयोधी प्रसाद यादव ( एपी यादव ), प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी, पूर्व शिक्षिका मन्जु श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पुरस्कृत व्यक्ति राजु पासवान, शीमला देवी झाले प्रविधिको विकाससंगै सामाजिक संजालको दुरुपयोगले मानव अधिकार उलंघनको घटना वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरे । उनीहरुले मानव अधिकार उलंघनको घटना न्यूनीकरणका लागि सुक्ष्म अनुसन्धान गरि संलग्न व्यक्तिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषका सचिब एवम् इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलद्वारा संचालित कार्यक्रममा स्वागत कोषकी सदस्य समेत रहेकी मधेस प्रदेश सभा सदस्य माला कर्णले गरिन ।