न्यूज टुडे
कञ्चनरूप, २३ साउन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनियाबाट प्रहरीले ३ सय २ किलो ४ सय ८० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लगाइएको पटुवा( सन) खेतबारीबाट प्रहरीले शनिबार ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो ।
दिउँसो करिब २ बजेको समयमा भारत बस्ने नन्दकिशोर मुखियाले लगाएको पटुवा खेतबारीमा खानतलासी गर्दा १२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७, मुखिया टोल बस्ने अन्दाजी ५३ वर्षीया माधुरी मुखियाको रहेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल गर्दा कुल ३०२ किलो ४८० ग्राम रहेको पाइएको छ । मुखियालाई नियन्त्रणमा लिई गाँजा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।