उत्तम आचार्य
कञ्चनरूप, २१ साउन ।
सप्तरीको उत्तरी क्षेत्रमा जंगली जनावरको आतंक रोकिनुको साटो झन् पछि झन् थपिँदै गएको छ। केही समयअघि सम्म जंगली हात्तीको बितण्डाले आक्रान्त बनेका स्थानीय बासिन्दाहरू त्यो समस्या सेलाउन नपाउँदै अहिले महिनौंदेखि बाँदर आतंकका कारण पुनः त्रसित र आजित बनेको हो ।
जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडानम्बर ६ को महुली र मोहनपुर,,घोघिदाहा, सितापुर, कंकालिनी टोल तथा कञ्चनरूप नगरपालिका वडा नं. १२ को रूपनगर, वस्तीपुर र सीतापुर क्षेत्रमा बाँदरले गाउँमै पसेर दुःख दिन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् ।
सयौँको संख्यामा हुलका हुल आउने बाँदरहरूले खेतबारीमा लगाएको अन्नबाली र तरकारी नष्ट गर्ने मात्र नभई सोझै घरभित्रै पसेर उपद्रो मच्चाउने गरेका छन्। कञ्चनरूप नगरपालिका वडा नं. १२ सीतापुरकी स्थानीय जानुका आचार्यले बाँदरले महिनौंदेखि दुःख दिइरहेको बताइन्। उनले भनिन्, “सयौँको संख्यामा आएका बाँदरहरू घरभित्रै पस्छन्। घरमा पकाएर राखेको खाना समेत खाइदिने र सामानहरू फ्याँकेर निकै दुःख दिने गरेका छन्।” घरभित्रै बाँदर पसेर खाद्यान्न नष्ट गर्न थालेपछि महिला र बालबालिकाहरू घरमा बस्न समेत डराउनुपर्ने अवस्था सिर्जना भएको छ।
बाँदरको उपद्रो घरभित्र मात्र नभई खेतबारीमा पनि उत्तिकै छ। अग्निसाइर कृष्णसवरन–६ महुली मोहनपुरका दिपेन्द्र आचार्यका अनुसार बाँदरका कारण थन्क्याउने बेला भएको बाली जोगाउनै मुस्किल परेको छ। “बाँदरले खेतबारीमा लगाएको अन्नबाली सबै नोक्सान पारिदिन्छन्,” आचार्यले आफ्नो पीडा पोख्दै भने, “त्यति मात्र कहाँ हो र, दुःख गरेर घरभित्र भित्र्याएर थन्क्याएको अन्नपात समेत बाँदरले उत्तानो पारेर र खाएर बर्बाद पारिदिने गरेको छ।”
यसअघि जंगली हात्तीको बितण्डाका कारण ठूलो आर्थिक क्षति र मानसिक तनाव व्यहोरेका यस क्षेत्रका बासिन्दा अहिले बाँदरको दैनिक उपद्रोले गर्दा थप संकटमा परेका छन्। बाँदर धपाउन खोज्दा उल्टै मानिसहरूलाई झम्टिने र आक्रमण गर्न आउने हुँदा बस्तीमा त्रास फैलिएको छ।
महिनौंदेखि स्थानीय बासिन्दाहरू जंगली जनावरको चपेटामा पर्दा समेत स्थानीय प्रशासन, वन कार्यालय र सरोकारवाला निकायले नियन्त्रणका लागि कुनै ठोस कदम नचालेको भन्दै पीडितहरूले तीव्र आक्रोश र गुनासो व्यक्त गरेका छन्। पीडित स्थानीयहरूले तत्काल बाँदर आतंक नियन्त्रण गर्न, जिउधनको सुरक्षा गराउन र नष्ट भएको बालीनालीको उचित क्षतिपूर्ति दिलाउन स्थानीय सरकार र प्रशासनसँग जोडदार माग गरेका छन्।