न्यूज टुडे
राजविराज,२१ साउन ।
कञ्चनरूप नगरपालिका–११ ठेलियामा कुखुरा फर्ममा छाडिएको नाङ्गो विद्युतीय तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको छ । प्रथमलाल धामीले संचालन गरेको कुखुरा फर्ममा छिमेकी प्रतिक धामीको करेन्ट लागेर मृत्यु भएको हो ।
पोल्ट्री फर्म परिसरमा लापरबाहीपूर्वक नाङ्गो तारा छाडिएकोले प्रहरीले फर्म सञ्चालक ४४ वर्षीय प्रथमलाल धामीलाई पक्राउ गरेको छ। उनीमाथि ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
गत साउन २ गते बिहान करिब ९ बजे कञ्चनरूप नगरपालिका–११ स्थित धामीको कुखुरा फर्ममा पुगेका २ वर्षी धामीलाई त्यहाँ रहेको नाङ्गो तारमा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो। बालक कुखुरा हेर्न फर्मभित्र पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घटनापछि मृतकका बुवा सन्तकुमार धामीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएपछि ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। पोल्ट्री फर्म सञ्चालक प्रथमलाल धामीलाई साउन १९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धामीमाथि ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।
यसैगरी प्रहरीले बैनिङ्ग कसुर मुद्दाका अर्का एक प्रतिवादीलाई समेत पक्राउ गरेको छ । राजविराज नगरपालिका १० हाल वडा नम्बर २ बस्ने महेन्द्र सुतिहारलाई नियन्त्रणमा लिएको हो ।
जग्गा खरिदमा लामो समय पैसा नदिएको तथा पछि चेक पछि खातामा पैसा नपाइएको भनी जाहेरी परेपछि सुतिहारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् ।
उनीमाथि बैकिङ्ग कसुर मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ३ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाएको डिएसपी घिमिरेले बताए ।